भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सिद्धार्थ राजमार्गको स्तरोन्नति तथा विस्तारका सम्बन्धमा स्याङ्जा जिल्लाका जनप्रतिनिधिहरुसँग छलफल गरेकी छन्।
सिद्धार्थ राजमार्गको विस्तारका सम्बन्धमा देखिएका समस्याबारे मन्त्री अर्यालको गृहजिल्ला स्याङ्जाबाट आएको जनप्रतिनिधि तथा सरोकारवाला सम्मिलित टिमसँग छलफल गरेकी हुन्।
सडक विभागका महानिर्देशक तथा अर्थ मन्त्रालयको सहसचिव समेतको उपस्थितिमा मन्त्री अर्यालले छलफल गरेकी हुन्। त्यस अवसरमा बोल्दै मन्त्री अर्यालले सिद्धार्थ राजमार्ग १६ जिल्लाको गेटवे भएकाले यी जिल्लाहरुको विकासका निम्ति यो राजमार्ग अत्यन्तै जरुरी रहेको बताइन्।
मन्त्री अर्यालले राजमार्गका कारण जनताले पटकपटक क्षति ब्यहोर्नुपरेको गुनासो आएको भन्दै त्यसलाई उचित सम्बोधन गर्नुपर्ने बताइन्।
‘सिद्धार्थ राजमार्ग हाम्रा निम्ति अत्यन्तै महत्वपूर्ण राजमार्ग हो। यो राजमार्गसँग यस क्षेत्रको विकासका कुराहरु जोडिएका छन्’, मन्त्री अर्यालले भनिन्।
त्यस अवसरमा बोल्दै अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले राजमार्गलाई चाहिने प्राविधिक सहयोग सडक विभागले दिँदै आएको बताए। विगतमा राजमार्ग निर्माण गर्दा ठूल्ठूला विष्फोट गराउँदा ठूलो क्षति भएकाले अब त्यस क्षेत्रमा बाटो बिस्तार गर्दा ग्रीन क्लिन टेक्नोलोजी अपनाउनुपर्ने बताए।
राजमार्ग विस्तारका लागि स्रोतको समस्या नरहेको भन्दै उनले अर्थ मन्त्रालयको प्राथमिकताको प्रोजेक्ट भएकाले छिटोभन्दा छिटो काम सम्पन्न गर्ने तयारीमा रहेको बताए।
त्यस अवसरमा बोल्दै सडक विभागका महानिर्देशक केशव शर्माले राजमार्गको मापदण्ड २५ मिटर भन्ने ऐनमै व्यवस्था भएकाले यस विषयमा तल्लो तहबाट तलमाथि गर्न नसकिने बताए। यस विषयमा स्थानअनुसार फरक–फरक समस्या उठेको भन्दै महानिर्देशक शर्माले कतिपय विषयमा स्थानीय तहले पनि आफ्नो योजना बनाएर काम गर्नसक्ने बताए।