संयुक्त राज्य अमेरिकामा आजभोलि राष्ट्रपति चुनावको माहौल छ। राष्ट्रपतिका दुई उम्मेदवार डोनाल्ड ट्रम्प र जो बाइडेनबीच बुधबार पहिलो बहस भएको छ।
क्लिभल्यान्डको ओहायोस्थित एक क्याम्पस भएको बहसको सञ्चालन क्रिस वालेसले गरेका थिए।
बहसमा ट्रम्प र वाइडेनबीच चर्काचर्की परेको थियो। उनीहरूबीच चुनावअघि नै न्यायाधीश एमी कोनी बार्रेटलाई सर्वोच्च अदालतमा मनोनित गर्न लागेको, अमेरिकाको स्वास्थ्य अवस्था, कोरोनाभाइरस महामारीलाई नियन्त्रण गर्न ट्रम्प प्रशासनले गरेका काम, जातीय विभेदलगायत विषयमा बहस भयो।
बहसका क्रममा ट्रम्प र बाइडेन नीतिगत विषयसँगै व्यक्तिगत आरोप-प्रत्यारोपमा उत्रिएका थिए। बाइडेनले सुरूदेखि नै ट्रम्पलाई ढँटुवा भनेका थिए। एक ठाउँमा उनले ट्रम्पलाई रूसी राष्ट्रपति भ्लादमिर पुटिनको पपेट बताएका थिए।
बहसका क्रममा ट्रम्प र बाइडेनले धेरै पटक अर्काले बोल्दाबोल्दै बीचमै रोकेका थिए। सञ्चालकले सोधेका प्रश्नको उत्तर दिन नपाउँदै ट्रम्प बीचमै बाइडेनलाई प्रतिप्रश्न पनि गर्थे।
बहसका क्रममा एक ठाउँमा त वाइडेनले दिक्क मान्दै ट्रम्पलाई चुप लाग्न भने। उनले भने- विल यु सट अप, म्यान (के तपाईं चुप लाग्न सक्नुहुन्छ)? ट्रम्पले यसरी बीच-बीचमा अवरोध गर्नु राष्ट्रपतिको जस्तो व्यवहार नभएको पनि उनले बताए।
स्थिति सम्हाल्न सञ्चालक वालेसले भने- मलाई लाग्छ यदि हामीले दुबै जनालाई थोरै अवरोधले बोल्न दियौं भने देशको राम्रो सेवा हुनेछ। यसो गर्न म तपाईंलाई अपिल गर्छु।'
जवाफमा ट्रम्पले वाइडेनलाई लक्षित गर्दै भने,'र उनलाई पनि।'
बहसको अन्त्यमा दुबै उम्मेदवारलाई चुनावी परिणाम स्वीकार्नु हुन्छ कि हुन्न? चुनावको औपचारिक नतिजा नआउन्जेल आफूलाई विजयी घोषणा गर्न हुन्छ कि हुन्न र मत परिणाम आउन ढिला भए आफ्ना समर्थकलाई हिंसात्मक प्रदर्शन नगर्न भन्नुहुन्छ कि हुन्न भनेर सोधिएको थियो।
जवाफमा बाइडेनले आफूले हारे स्वीकार्ने, समर्थकलाई संयम रहन भन्ने बताएका थिए भने ट्रम्पले गोलमोटल जवाफ दिएका थिए।