कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले अहिलेकै व्यवस्थामा भगवान शिव र ब्रम्हाजी आए पनि पाँच लाख मेट्रिक टन मल ल्याउन सम्भव नभएको टिप्पणी गरेका छन्।
शुक्रबार ४० औं विश्व खाद्य दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले अहिले ल्याउन खोजिएको ५ लाख मेट्रिकटन मल आजकै व्यवस्थाबाट तत्काल ल्याउन नसकिने बताएका हुन्। उनले तत्काल ५ लाख मेट्रिकटन मल ल्याउन भगवान शिव वा ब्रम्हा आए पनि नसक्ने टिप्पणी गरेका हुन्।
कलकत्ताको पोष्टबाट आजकै व्यवस्था र तरिकाले ल्याउने हो भने दिनदिनै एउटा डेडिकेटेड ट्रेन आउने व्यवस्था गर्नुपर्ने मन्त्री भुसालले बताए।
उनले भने, ‘अहिलेकै आपूर्तिको कुरा र अहिलेको मागका कुरा गर्ने हो भने अहिले हामीले ल्याउन खोजेको ५ लाख मेट्रिकटन आजकै व्यवस्थाबाट शिवजी आए भने पनि, ब्रम्हाजी आए भने पनि सक्दैनन्। कलकत्ताकै पोष्टबाट ल्याउने आजकै तरिकाले ल्याउने हो भने ५ लाख मेट्रिकटन दिनदिनै एउटा ट्रेन कलकत्ताबाट नेपाललाई डेडिकेटेड ट्रेन हुनुपर्छ। जो दिनदिनै आउनेछ।’
मन्त्री भुसालले कृषि व्यवस्थाको परिवर्तन नभएसम्म नेपालको कृषि क्षेत्रको विकास सम्भव नभएको पनि बताए।
अहिलेसम्म कृषि व्यवस्थाको परिवर्तनबारे कम अलोचना हुँदा कृषिमा अपेक्षाकृत विकास हुन नसकेको समेत उनले बताए।
कृषि प्राविधिकहरूले प्रविधिभन्दा माथि उठेर काम गर्न सकेमात्रै कृषि व्यवस्थामा परिवर्तन ल्याउन सम्भव भएको बताए।
कृषि व्यवस्थालाई परिवर्तन गर्न पछिल्लो समय व्यक्तिगत प्रतिस्पर्धामा आधारीत अनुदानलाई रोकेर इनपुटमा आधारित लगानी गरिने व्यवस्था गरिएको पनि उनले बताए। त्यसमा पनि धेरै काम गर्न नसकेको मन्त्री भुसालले स्वीकारे।
किसानलाई बैंकको ब्याजदरमा अनुदान दिनेबाहेक केही गर्न नसकेको उनको भनाइ छ। कार्यक्रममा लकडाउन तथा निषेधाज्ञाको समयमा विभिन्न स्थानमा निःशुल्क खाना खुवाउने व्यक्ति तथा समूहहरूलाई मन्त्री भुसालले सम्मान गरेका थिए।