अर्थमन्त्री विष्णु पौडेलले प्रमुख आर्थिक सल्लाहकारमा डाक्टर प्रकाशकुमार श्रेष्ठलाई नियुक्त गरेका छन्।
अर्घाखाँची गृहजिल्ला भएका श्रेष्ठ नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक हुन्। यसअघि दुई वर्ष प्रदेश ५ योजना आयोगको उपाध्यक्षको जिम्मेवारी पूरा गरेका श्रेष्ठले नेपालको आर्थिक क्षेत्रको विज्ञ मानिन्छन्।
कोरोना महामारीसँगै देशको अर्थतन्त्र शिथिल भएको अवस्थामा दोस्रोपटक अर्थ मन्त्रालयको बागडोर समालेका अर्थमन्त्री पौडेललाई सफल बनाउन सल्लाहकारको समेत महत्वपूर्ण भूमिका रहने छ।
श्रेष्ठले अहिलेको जटिल अवस्थामा देशको अर्थतन्त्र सुधारको लागि आफ्नो ज्ञान र क्षमताले भ्याएसम्म योगदान गर्ने बताए।
´अहिले चुनौती छ, तर चुनौती छ भनेर हात-खुट्टा बाँधेर बस्ने अवस्था पनि होइन, जसले गरे पनि केही न केही योगदान गर्नुपर्ने थियो, अहिले अर्थमन्त्री असफल हुनु भनेको देश असफल हुनु हो। त्यसैले, देशलाई असफल हुन नदिन म मात्र होइन, समग्र टिमले काम गर्ने छौं,’ उनले भने।