प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच 'वान-टु-वान' भेट भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा दुई नेताबीच मंगलबार मध्यान्ह एक घन्टाभन्दा बढी कुराकानी भएको थियो।
प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच गत साउन ९ गतेयता एक्लाएक्लै कुराकानी भएको थिएन। तीन महिनापछि उनीहरूबीच आज मंगलबार 'वान-टु-वान' भेटघाट भएको हो।
नेपालसँग भेट्नुअघि प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेट गरेका थिए।
प्रधानमन्त्री ओली र दाहालबीच केही समययता स्थायी कमिटीका निर्णय कार्यान्वयनबारे छलफल चलिरहेको थियो। त्यस्तै कर्णाली प्रदेशमा देखिएको विवादमा पनि ओली र दाहालबीच थप मतभेद देखिँदै आएको छ।
ओली-दाहाल भेटमा कर्णाली प्रदेशमा देखिएको पार्टी विवादबारे छलफल भए पनि सहमति हुन सकेको थिएन। कर्णाली विवाद समाधानबारे दुई अध्यक्षको सचिवालयले मंगलबारै अलग अलग प्रेस नोट जारी गरेका छन्।
यो पनि हेर्नुस्ः कर्णाली प्रदेशको विवादबारे प्रधानमन्त्री र प्रचण्ड सचिवालयका फरक-फरक प्रेस नोट
दुई अध्यक्षबीच विवाद बढिरहेका बेलामा ओली र नेपालबीच कर्णाली प्रदेशको विवादबारे नै छलफल भएको श्रोतले बतायो।
'उहाँहरू बीचमा अहिलेकै समसामयिक विषयमा कुराकानी भएको हो। तर कुनै खालको सहमति भएजस्तो लाग्दैन,' श्रोतले सेतोपाटीसँग भन्यो, 'दुवै नेताले आफ्ना धारणा राख्ने बाहेक अरू कुरा भएको छैन।'