पर्सामा नेपाल कम्युनिष्ट पार्टीको शपथ ग्रहण कार्यक्रममा दुई पक्षबीच कुटाकुट भएको छ।
बिहीबार दिउँसो विन्दबासिनी गाँउपालिका-५मा नेकपाको गाँउपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा झडप भएको हो।
झडपमा आठ जना घाइते भएका छन्। त्यसमध्ये एक जनाको अवस्था गम्भीर भएको पर्साका प्रहरी प्रवक्ता डिएसपी मनोजित कुँवरले जानकारी दिए।
'पार्टीभित्रै दुई पक्षबीच झडप भएको हो। आठ जनामध्ये एक जनाको टाउकोमा चोट लागेको हुँदा अवस्था अलि गम्भीर छ,' डिएसपी कुँवरले भने।
उनीहरूबीच के कारणले कुटाकुट भएको भन्ने स्पष्ट भइसकेको छैन।
नेकपा प्रदेश २ का सचिव सुमन प्याकुरेलले आन्तरिक कारण कुटाकुट भएको र त्यसको कारण बुझ्ने काम भइरहेको बताए।
‘मधेसको राजनीतिको आफ्नै डायनामिक्स छ। यो माथिको भन्दा त्यहीँको स्थानीय विषय हो। पर्साका साथीहरूले हामी यतै मिलाउँछौं भन्नुभएको छ,‘ उनले भने,‘घटनाको प्रशासन र पार्टीले छानबिन गर्छ।’
गम्भीर घाइते हुनेमा मुकेश चौरासिया छन्। उनको न्युरो अस्पतालमा उपचार भइरहेको छ।
डिएसपी कुँवरका अनुसार अन्य ७ जना भने सामान्य घाइते छन्। केही भने अस्पतालबाट डिस्चार्ज समेत भइसकेका छन्।