प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय खुफिया एजेन्सी रिसर्च एन्ड एनालाइसिस विङ (रअ)का प्रमुख सामन्तकुमार गोयलसँग कूटनीतिक मर्यादाविपरीत भेट गरेको भन्दै नागरिक समूहले आपत्ति जनाएको छ।
नागरिक समूहका २३ जनाले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्रीबाटै यस्तो अवाञ्छित गतिविधि हुनु दुर्भाग्यपूर्ण भएको उल्लेख छ।
विवादास्पद भूमिकामा रहिआएको संस्थाका प्रमुखसँग अन्य कुनै पदाधिकारी वा नेताबाट गैरकूटनीतिक भेटघाट भएमा त्यस्ता गतिविधिलाई निरूत्साहित र नियन्त्रित गर्नुपर्नेमा प्रधानमन्त्री आफैंले जारी गरेको कूटनीतिक आचारसंहिता विपरीत भेटघाट गरेको नागरिक अगुवाको ठहर छ।
‘छिमेकीसँगको सम्बन्ध सुधार कूटनीतिक माध्यमबाट सबै नेपाली जनताको जनभावना तथा समर्थनको बलमा गर्ने हो न कि गोप्य र अपारदर्शी गुप्तचर निकायसँगको सल्लाहमा’, नागरिक अगुवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ’, प्रचलित कूटनीतिक अभ्यासको उल्लङ्घन र नेपालको सार्वभौमसत्ता र राष्ट्रिय स्वाभिमानको अपमान गरिएको यो भ्रमणले यस्ता थुप्रै गम्भीर प्रश्न उठाएको छ।’
नागरिक अगुवाहरूले अगाडि भनेका छन्- ‘रअ’ प्रमुखको यो भ्रमणको एजेण्डा के थियो, कसले आमन्त्रण गरेको थियो या कुनै आमन्त्रण बिनाको उनको आगमन हो, प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरिएको हो भने सारभूत वार्ता को-को सँग र कुन-कुन विषयमा गरियो, प्रचलित कूटनीतिक कार्यविधि अनुसारको कूटनीतिक पदाधिकारीसँग भेट गर्न किन उपयुक्त ठानिएन र गुप्तचर निकायसँग नेपालले एकदमै अपर्झट कुरा गर्नु पर्ने विषय के थियो भन्ने जस्ता गम्भीर प्रश्नहरू अनुत्तरित रहेकाले भ्रमण रहस्यमय छ।’
सरकारबाट यी प्रश्नको इमानदार र स्पष्ट जवाफ नागरिकले चाहेका विज्ञप्तिमा उल्लेख छ।