कोरोना संक्रमण देखिएका नेपाली कांग्रेसका नेता मीन विश्वकर्मा एक सातादेखि आइसियूमा छन्।
पछिल्लो तीन दिनदेखि ग्राण्डी अस्पतालको आइसियूमा राखेर उनको उपचार भइरहेको हो। यसअघि तीन दिन उनी अर्कै अस्पतालमा थिए।
‘उहाँ छ दिनदेखि अस्पतालमा हुनुहुन्छ। ग्राण्डीको आइसियूमा राखेको पनि तीन दिन भयो,’ उनका आफन्त विवश पौडेलले सेतोपाटीसँग भने।
उनको फोक्सोमा निमोनिया भएको जानकारी चिकित्सकहरूले दिएको उनले बताए।
गत कात्तिक १ गते उनमा कोरोना देखिएको थियो।
कोरोना पुष्टि भएपछि केही दिन उनी होम आइसोलेसन बसेका थिए।
अस्पतालले आफूहरूलाई बिरामीको अवस्थाबारे जानकारीसमेत नदिएको उनले गुनासो गरे।
‘अवस्था स्थिर छ मात्रै भन्छन् डाक्टरहरूले। स्थिर भनेको के हो? उपचारका लागि के तयारी गर्दैछ भन्नेबारे परिवार र आफन्तलाई त भन्नु पर्ने हो,’ उनले भने, ‘सांसद र पहिले मन्त्री पनि भइसकेका मानिसको त यस्तो अवस्था छ। सामान्य मानिसको के हुन्छ?’
यस विषयमा अस्पताल प्रशासनसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन।