भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगला दुई दिने भ्रमणका लागि ११ गते काठमाडौं आउने भएका छन्।
भारतीय विदेश मन्त्रालयले सोमबार श्रींगलाको भ्रमणबारे औपचारिक जानकारी दिएको छ।
यही वर्ष भारतीय विदेश सचिवको जिम्मेवारी सम्हालेका श्रींगलाको यो पहिलो नेपाल भ्रमण हो। लिपुलेक र कालापानी क्षेत्रमा विवाद चुलिएपछि उनी काठमाडौं आउन लागेका उनी पहिलो भारतीय उच्च कूटनीतिज्ञ हुन्।
भारतले उनको भ्रमणलाई उच्च स्तरीय भ्रमणको परम्पराको निरन्तरता भएको बताएको छ।
भ्रमणमा क्रममा श्रींगलाले नेपाली समकक्षी भरतराज पौडेलसँग औपचारिक वार्ता गर्ने छन् भने अन्य महत्वपूर्ण राजनीतिक भेटघाट पनि गर्ने छन्।
‘भारतको नेपालसँग पौराणिक र ऐतिहासिक सम्बन्ध छ। हालैका वर्षहरूमा भारतको सहायतामा अन्तरदेशीय पूर्वाधारको निर्माण भएर दुई पक्षीय सहकार्य अझ बलियो भएको छ,’ भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ,‘दुई पक्षीय सम्बन्धलाई अझ मजबुद् बनाउन यो भ्रमण एक अवसर हुनेछ।'
श्रींगला १२ गते नयाँ दिल्ली फर्किने छन्।
को हुन् श्रींगला?
यही वर्षको जनवरीमा भारतीय विदेश मन्त्रालयमा प्रशासनतर्फको नेतृत्व सम्हालेका श्रींगला नेपाल-भारतबीच झन्डै एक वर्षसम्म राजनीतिक र कूटनीतिक तहमा औपचारिक वार्ता हुन नसकेका बेला काठमाडौं आउन लागेका हुन्।
विदेश सचिवका रूपमा उनको यो पहिलो नेपाल भ्रमण भए पनि काठमाडौं उनका लागि एकदमै नयाँ भने लाग्ने छैन। किनकी श्रींगला नेपाली मूलकी आमाका सन्तान हुन् भने उनी फरर नेपाली बोल्न सक्छन्।
श्रींगलाका बुवाआमा सिक्किमका हुन्। उनीहरू दार्जिलिङमा बस्थे। श्रींगलाकी आमा हरिदेवी बस्नेत हुन्। उनका बुवा टी छिरिङ्ला वैदेशिक व्यापार केन्द्रमा प्रमुख उपनियन्त्रक थिए। उनीहरू घरमा नेपाली बोल्थे।
श्रींगलाको जन्म भने मुम्बईमा भएको थियो। जागिरका शिलशिलामा उनका बुवा विभिन्न ठाउँमा गइरहन्थे।
आमाबुवाले दुबै जनाको नाम र थर बनाएर सन्तानको नाम राखेका थिए। आमा हिन्दु भएकाले उनको नाम हर्षवर्द्धन भयो भने बाबुको बाट छिरिङ्ला थर बनाइयो।
त्यतिबेला मुम्बईमा छिरिङ्ला थर अनौठो थियो। त्यसैले विद्यालयका शिक्षकले उनको थर बिगारेर श्रींगला बनाइदिए। श्रींगला र छिरिङ्ला उस्ताउस्तै सुनिने भएकाले उनीहरू झुक्किएका हुन सक्छन्।
झुक्किएर डकुमेन्टमा लेखिएको थर नै पछि उनले प्रयोग गर्ने भए। १९८४ मा श्रींगला भारतीय विदेश सेवामा भर्ना भए।
विदेशस्थित नियोगहरूमा कूटनीतिज्ञ बनेर जाँदा उनी कुन समुदायका हुन् भनेर चासोको विषय हुन्थ्यो।
गत वर्ष सिक्किमस्थित आइसिएफएआई विश्वविद्यालयले दिएको मानार्थ पिएचडीको उपाधि ग्रहण गर्दा श्रींगलाले नेपालीमा पनि सम्बोधन गरेका थिए। सम्बोधनको अन्तिममा उनले नेपाली (मेरो मातृभाषा जुन सिक्किमको पनि भाषा हो) मा आफ्नो भनाई अन्त्य गर्न चाहन्छु भनेका थिए।