भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले काठमाडौंमा आयोजना हुने एक कार्यक्रममा मन्तव्य राख्ने भएका छन्।
काठमाडौंको विदेश नीतिसम्बन्धी थिंक ट्यांक एसियन इन्स्चिट्युड अफ डिप्लोमेसी एन्ड इन्टरनेसनल अफयर्स (एआइडिआइए)ले शुक्रबार आयोजना गर्ने एक कार्यक्रममा सहभागी हुन लागेका हुन्।
उनले नेपाल-भारत दुईपक्षीय सहयोगका मुद्दाहरूबारे भनाइ राख्ने एआइडिआइएले जनाएको छ।
उनी साढे १० देखि साढे ११ बजेसम्म कार्यक्रममा सहभागी हुनेछन्।
'उहाँको मन्तव्य सार्वजनिक कूटनीतिलाई प्रचार गर्ने उद्देश्यको हुनेछ,' एआइडिआइएका प्रमुख कार्यकारी सुनिल केसीले भने।
यस कार्यक्रममा थिंक ट्यांकका व्यक्तित्व, राजनितिज्ञ, सरकारी एजेन्सीका कर्मचारी, कूटनीतिज्ञ, शैक्षिकका व्यक्तित्व, व्यापारी सहभागी हुनेछन्।
यसको लाइभ एआइडिआइएको फेसबुक र युट्युब पेजबाट प्रसारण हुनेछ।
विदेश सचिव श्रींगला बिहीबार दुई दिने भ्रमणका लागि काठमाडौं आउँदैछन्।