पोखरामा बुधबार दिउँसो युवाहरूको एउटा समूहले ‘गणतन्त्र धोका हो’ भन्दै मोटरसाइकल तथा कार र्याली निकालेका छन्। ‘पश्चिमाञ्चलवासी नेपाली जनता’ का नाममा आयोजित प्रदर्शनमा सहभागीले हिन्दु राज्य र राजतन्त्र फर्काउन माग गरे।
‘पश्चिमाञ्चलवासी नेपाली जनता’ का नाममा प्रदर्शन भए पनि पोखरामा यस्तो नामको कुनै संगठन छैन। प्रदर्शनमा सहभागी गराउन आयोजकले उक्त नाम राखेका थिए। प्रदर्शनबारे जानकारी दिन मंगलबार पोखरामा भएको पत्रकार सम्मेलन पनि त्यही नाममा भएको थियो।
र्यालीमा सहभागी अधिकांशले नेपालको राष्ट्रिय झन्डा बोकेका थिए। उनीहरूले राजा पृथ्वीनारायण शाहदेखि महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रका भनाइ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए। उनीहरूले ‘हाम्रो राजा हाम्रो देश– प्राणभन्दा प्यारो छ’, ‘पोखरेली जनता के भन्छ, राजतन्त्र ले भन्छ’, ‘टोलटोलमा हल्ला छ, राजा ल्याउने सल्लाह छ’ जस्ता नारा लगाएका थिए।
अमरसिंह चोकबाट निस्केको जुलुस पृथ्वीचोक, मुस्ताङचोक, सहिदचोक, हलनचोक, जिरोकिलोमिटर, सिर्जनाचोक, चिप्लेढुंगा हुँदै मानवअधिकार चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।
कोणसभामा पुगेपछि मात्र अधिकांश सहभागी र दर्शकले ‘पश्चिमाञ्चलवासी नेपाली जनता’ का नाममा आयोजित र्यालीको वास्तविक आयोजक चिने।
कोणसभामा शिव सेना नेपालका केन्द्रीय अध्यक्ष अनिल बस्नेत उर्फ अनिलबाबाले करिब तीन मिनेट लामो सम्बोधन गरेका थिए। उनको सम्बोधनले उक्त प्रदर्शनको वास्तविक आयोजक शिव सेना नेपाल रहेको पुष्टि गरेको थियो। कोणसभालाई सम्बोधन गर्दै बस्नेतले धर्म, राजा र राष्ट्र जोगाउन आह्वान गरे।
शिव सेना नेपालले विभिन्न व्यानरमा पछिल्लो समय यस्ता प्रदर्शन गर्दै आएको छ। हिन्दु राज्य र राजतन्त्र पुनर्स्थापना, संघीयताको खारेजी लगायत माग राखेर उनीहरूले पहिलो प्रदर्शन बुटवलमा गरेका थिए। त्यसपछि धनगढी, विराटनगर, सिरहा र सप्तरीमा पनि प्रदर्शन गरेको शिव सेना नेपाल पोखराका सचिव भेषराज कोइरालाले बताए।
‘अहिलेको राजनीतिक परिवर्तन उल्ट्याउने र भ्रष्टाचारको विरोध गर्न हामीले प्रदर्शन गरेका हौं,’ उनले भने, ‘जनता हाम्रो एजेन्डामा स्वतस्फुर्त आए।’ अब अर्को प्रदर्शन चितवनमा हुने समेत उनले जानकारी दिएका छन्।