नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले कांग्रेसका शीर्ष नेतासँग भेटघाट गरेका छन्।
सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बिहीबार राति श्रींगलाले कांग्रेसका शीर्ष नेतालाई भेटेका हुन्।
बुढानिलकण्ठ स्रोतका अनुसार भेटमा देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला थिए। भेटमा भएको कुराकानीबारे जानकारी प्राप्त भएको छैन।
बिहीबार नै काठमाडौं आइपुगेका श्रींगलाले यसअघि प्रधानमन्त्री केपी ओलीसँग बालुवाटारमा भेट गरेका थिए भने त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेका थिए।
सत्तारुढ दल नेकपामा तीव्र विवाद भइरहेकै क्रममा श्रींगला नेपाल आइपुगेका हुन्। उनी राजनीतिक भेटघाटसँगै नेपालका विभिन्न ठाउँको भ्रमणका लागि नेपाल आएको बुझिएको छ।