नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सबै तिरबाट लोकतन्त्रमाथि प्रहार हुन थालेको बताएका छन्। उनले लोकतान्त्रिक शासन व्यवस्था नै गुम्ला कि भन्ने शंका बढेको बताए।
नेपाली कांग्रेस सुनसरी-काठमाडौ सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको रक्तदान कार्यक्रममा शनिबार डा कोइरालाले भने, ‘सबै तिरबाट लोकतन्त्रमाथि प्रहार हुन थाल्यो। व्यवस्था नै गुम्छ कि भन्ने आशंका सुरू हुन थालेको छ। यस्तो बेलामा महाधिवेशनमार्फत कांग्रेसलाई जनतामैत्री र गतिशील बनाई जीवन्तता दिन आवश्यक छ।’
कोइरालाले सामाजिक र भौतिक दुरी कायम राख्दै १४ औं महाधिवेशनमा लाग्न कार्यकर्तालाई आग्रह गरे।
कोरोना भाइरस अझै केही समय रहिरहन सक्ने बताउँदै उनले यसैको वा अन्य कुनै बहानामा पार्टीको महाधिवेशन रोकिन नहुने बताए।
कोइरालाले केन्द्रीय परिपत्र अनुसार छिटो क्रियाशील सदस्यता टुंग्याएर केन्द्रमा पठाउन जिल्ला सभापतिहरूलाई आग्रह समेत गरे।