जनता समाजवादी पार्टीका नेता शरतसिंह भण्डारीले वर्तमान सरकार इतिहासकै अराजक सरकार रहेको आरोप लगाएका छन्।
विद्यापति स्मृति दिवसको अवसरमा जनकपुरधाममा आज आयोजित कार्यक्रममा बोल्दै नेता भण्डारीले वर्तमान सरकारमा अनुशासनहीनता अत्यधिक रहेको बताउँदै अराजकता बढेको आरोप लगाए।
जनताले दुई तिहाइको जनादेश दिए पनि देशमा भ्रष्टाचार, अनुशासनहीनता बढेको उनले बताए।
देशमा शक्ति विकेन्द्रीकरणका लागि नेपाली जनताले संघीयता ल्याइए पनि वर्तमान सरकारको नियत शंकास्पद रहेको उनले बताए।
‘वर्तमान राजनीतिक प्रणाली संरक्षण गर्ने जिम्मा जुन सरकारको जिम्मा छ, सोही सरकार राजनीतिक प्रणाली ध्वस्त पार्न उद्दत छ,’ उनले भने, ‘वर्तमान सरकार नै संविधान ध्वस्त पार्ने षडयन्त्रमा लागेको छ।’
नेता भण्डारीले प्रदेश २ सरकारले अहिलेसम्म प्रदेशको नामाकरण गर्न नसक्नु दुःखद् विषय रहेको समेत बताए।
प्रदेश २ को नामाकरण भूगोलको आधारमा मात्र नभई भू-संस्कृतिलाई समेत समेटेर नामाकरण गर्नु आवश्यक रहेकोले सहमतिको आधारमा चाँडै नै नामाकरण गर्न प्रदेश सरकारलाई आग्रह गरे।