नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीन जना कार्यकर्ता पक्राउ परेका छन्।
प्रहरीले काठमाडौंको वनस्थली बस्ने ४३ वर्षीय पूर्णबहादुर श्रेष्ठ, ललितपुरको इमाडोल बस्ने ४१ वर्षीय नारनबहादुर तोलाङगी र स्वयम्भू बस्ने ३५ वर्षीय सरोजप्रसाद न्यौपानेलाई पक्राउ गरेको हो।
महानगरीय अपराध महाशाखाको विशेष टोलीले उनीहरूलाई बिहीबार पक्राउ गरेको हो।
उनीहरूले काठमाडौं उपत्यकाका विभिन्न व्यवसायीहरूलाई फोन गरेर धम्क्याउने गर्थे। उनीहरूले चन्दा माग्ने गरेको र नदिएमा भौतिक कारबाही समेत गर्ने धम्की दिएको महाशाखाले जनाएको छ।
उनीहरूले फोन गर्दा आफूहरू अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, काठमाडौं जिल्ला समितिका अध्यक्ष, काठमाडौं जिल्ला सदस्य र गणतान्त्रिक सम्पर्क मञ्च समन्वय समितिका केन्द्रीय सदस्य हुँ भनेर चिनाउने गरेका थिए।
उनीहरूमाथि थप अनुसन्धान गर्न महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र महानगरीय प्रहरी वृत्त बालाजु पठाएको छ।