नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई संसारकै ठूलो ठान्ने गरेको बताएका छन्।
ओलीले ट्रम्प, मोदी र सी चिनफिङभन्दा पनि ठूलो आफूलाई ठान्ने गरेकोले आफूहरूलाई नटेरेको प्रचण्डको भनाइ छ।
‘ट्रम्प, मोदी र सी चिनफिङभन्दा ठूलो ठानेपछि हामीलाई उहाँले टेर्ने कुरो आएन,’ काठमाडौंमा आज आफूपक्षका नेता/कार्यकर्ता भेलामा प्रचण्डले भने, ‘उहाँ पेट फुलाउँदै हुनुहुन्छ। कुन दिन पेट भ्याट्ट फुट्छ। के गर्ने, हामी हेरिरहेका छौं।’
ओलीले ‘आइ एम द स्टेट’ भन्ने ठानेको प्रचण्डको आरोप थियो। तर संसारभरका तानाशाह र निरंकुशहरूले यस्तै भन्ने गरेको उनले बताएका छन्।
‘निरंकुश र तानाशाही हुन भूत सवार भएपछि मान्छेले आफ्नो आत्मालोचना नगर्ने, समीक्षा नगर्ने जनतालाई नदेख्ने र अरूलाई शत्रुजस्तो देख्ने र ध्वस्त नभएसम्म निहुँ खोज्याखोज्यै गर्ने हुँदो रहेछ,’ उनले भने।
उनले ओलीमा कमिलाको जस्तै प्वाँख उम्रेको पनि आरोप लगाएका छन्। गणतन्त्र र संविधा विरोधी भएकोले जनता र आफूहरूले ओलीलाई त्यसै नछाड्ने उनको भनाइ थियो।
‘सच्चिए होलान् कि भन्ने ठानेको के पो हुन्थ्यो कुकुरको पुच्छर जति तेल लाए पनि बाङ्गा का बाङ्गै। सबैभन्दा बढी तेल त मैले लगाएँ होला यी तीन वर्षमा,’ उनले भने।
पोहोरदेखि ओलीले तीन पटक पार्टी फुटाउन खोजेको उनको भनाइ थियो। ‘अहिले त उहाँले घरमै आगो लगाइदिनुभयो,’ उनले भने।