‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ भन्ने नारासहित आज योग दिवस विभिन्न कार्यक्रम गरि मनाइँदैछ।
राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा योग दिवस मनाइएको छ। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्री, सरकारका उच्च अधिकारीहरू, योगगुरू लगायतको उपस्थिति थियो।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा योग दिवस मूल समारोह समिति गठन गरिएको थियो। कार्यक्रममा योगगुरु क्षितिज बराकोटीले योगाभ्यास गराएका थिए।
मन्त्रिपरिषद्को विसं २०७२ साउन २८ गतेको बैठकले माघ १ गते राष्ट्रिय योग दिवस मनाउने औपचारिक निर्णय गर्दै यसको संयोजन गर्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई सुम्पेको थियो । यसअघि विसं २०३६ देखि उत्तरायण शुरु हुने दिन पारेर नेपालमा डा हरिप्रसाद पोखरेलको सक्रियतामा योगको क्षेत्रमा काम गरेका संस्थाको सहभागितामा विश्व योग दिवस मनाउन थालिएको थियो ।
नेपालमा विसं २०७२ माघ १ गतेदेखि राष्ट्रिय योग दिवस मनाइँदै आइएको छ।
दिवसको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले सन्देश दिँदै कोभिड–१९ को प्रकोपबारे प्रमाणिक खोज र औषधिको अभावमा वर्तमान विश्व प्रभावित भइरहेका बेला योगको थप महत्व र सान्दर्भिकता बढेको बताएका थिए।
प्रधानमन्त्री ओलीले हिमवत्खण्ड प्राचीनकालदेखि ऋषिमुनिहरुको तपोभूमिका रुपमा रहेकाले नेपाल योगको उद्गमस्थल रहेको उल्लेख गर्दै योगाभ्यास र आयुर्वेद एक भरपर्दो र प्राचीन उपचार पद्धति भएकाले स्वस्थ्य रहनका लागि यसलाई नियमित अभ्यासमा लान आग्रह गरे। उनले मुलुकको राष्ट्रिय आकाङ्क्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’ लाई पूरा गर्ने क्रममा सरकारले लिएको निरोग नेपाल अभियानलाई सार्थक तुल्याउनका लागि पनि योगलाई प्रश्रय दिन आह्वान गरे।
सबै तस्बिरहरूः प्रधानमन्त्रीको सचिवालय