प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष आर्थिक सल्लाहकारमा मोतीलाल दुगडलाई नियुक्त गरेका छन्।
मन्त्रिपरिषदको पुस २९ गतेको निर्णयअनुसार पूर्वराज्यमन्त्रीसमेत रहेका दुगडलाई सरकारको मन्त्रीसरहको मर्यादा कायम गर्ने गरी सल्लाहकार नियुक्त गरिएको छ।
‘मैले आज नियुक्ति पत्र पाएँ। पार्टीमा १७ घण्टा खटेर काम गरेँ। त्यसको उचित मूल्यांकन प्रधानमन्त्रीले गर्नुभयो,’ दुगडले सेतोपाटीसँग भने।
उनले आफूले पार्टीका लागि यसअघि राज्यमन्त्री पद त्याग गरेको पनि उल्लेख गरे।
‘त्यसबेला उद्योगी तथा व्यवसायीहरू दु:खी थिए,’ उनले भने, ‘अब खुसी हुन्छन्।’
उनी ओली नेतृत्वको सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति राज्य मन्त्री थिए। मन्त्रिपरिषद पुनर्गठन गर्दा उनलाई ओलीले हटाएका थिए।
यसअघि प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा पूर्वअर्थमन्त्री युवराज खतिवडा थिए। खतिवडा अहिले अमेरिकाका लागि नेपाली राजदूत छन्।