नेकपा स्थायी समिति सदस्य वर्षमान पुन अनन्तले निर्वाचन घोषणापछि कामचलाउ हैसियतमा सीमित भइसकेको ओली सरकारले ‘फुलफेज’ सरकारका रुपमा काम गरिरहेको भन्दै आपत्ति जनाएका छन्।
नेकपाको प्रचण्ड–माधव नेपाल पक्षका अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षणलाई आइतबार बर्दियामा सम्बोधन गर्दै पुनले आफैं निर्वाचन घोषणा गर्ने र पूर्ण अधिकार रहेको दाबी गर्ने प्रधानमन्त्री केपी ओली र उनका मन्त्रीहरु अलोकतान्त्रिक भएको टिप्पणी गरे।
संविधानमै प्रतिनिधिसभा सदस्य नरहेको व्यक्ति प्रधानमन्त्री हुन नसक्ने स्पष्ट उल्लेख भएको चर्चा गर्दै उनले ओलीले पूर्ण अधिकार छ भन्ने अनैतिक र गैरसंवैधानिक भएको आरोप लगाए।
‘कथित चुनाव घोषणापछि राजीनामा दिएको भए र राष्ट्रपतिले कामचलाउको चिठी दिएको भए वैधानिकताको सानो त्यान्द्रो भए पनि बाँकी रहन्थ्यो’, पुनले भने, ‘प्रतिनिधिसभा सदस्य नरहेको व्यक्ति प्रधानमन्त्री हुनै मिल्दैन, केपी ओली अवैधानिक प्रधानमन्त्री हो ।’
नेता पुनले कामचलाउ सरकारले संविधान र कानूनविपरीत दिएका आदेश पालना नगर्न सुरक्षा निकाय र कर्मचारीलाई आग्रह पनि गरे।
एउटा गुट र व्यक्तिका लागि जे–जे भन्यो त्यही गर्दा पछि पछुताउनुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ।
‘सुरक्षा निकाय र प्रशासनका कर्मचारीलाई कामचलाउन सरकारले दिएका निर्देशन संविधानसम्म छ कि छैन? कानूनसम्मत छ कि छैन? जनअभिमतअनुसार छ कि छैन? भन्ने विचार गरेर मात्र गर्न म अनुरोध गर्छु’, पुनले भने, ‘एउटा गुटका लागि, एउटा व्यक्तिका लागि भोलि पछुताउनुपर्ने अवस्था नआओस् । म अहिले नै सचेत गराउन चाहन्छु, सुझाव दिन चाहन्छु।’
यस्तै उनले संसद विघटनपछि गरिएका सबै काम असंवैधानिक हुने भन्दै संसद पुनर्थापनापछि ती सबै सच्याइने बताए।