प्रदेश १ को प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले नेकपाको अवस्था प्रष्ट नभएसम्म कुनै पनि समूहलाई समर्थन नगर्न सुझाव दिएका छन्।
भोलि सुरू हुने प्रदेश सभाको सातौं तथा हिउँदे अधिवेशनको तयारीका लागि मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्ने सदस्यहरूले नेकपा अहिले कानुनी रूपमा फुटिनसकेका कारण कानुनी प्रक्रिया पूरा नभएसम्म कुन समूहलाई सघाउने भन्ने निष्कर्षमा नपुग्न नेतृत्वलाई भनेका हुन्।
‘अहिले यो वा त्यो समूहलाई सघाउने निर्णय गर्न हुँदैन,’ बैठकमा सदस्यहरूले राखेको धारणा उद्धृत गर्दै कांग्रेस सचेतक सूयर्माराज राईले भने,‘किनभने नेकपा अहिले पनि कानुनी रूपमा एक छ।’
सचेतक राईका अनुसार सांसदहरू शेखरचन्द्र थापा, शिवनारायण गनगाई, ओमप्रकाश सरावगी , प्रतापप्रकाश हाङ्गाम लगायतले यस्तो धारणा राखेका हुन्।
यो विषयमा सदस्यहरूले धारणा राख्ने क्रम नसकिएको र बैठक पुनः बस्ने सचेतक राईले बताए।
प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरूद्ध नेकपाकै सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गरेका छन्।
प्रदेशको सत्ता समीकरणमा यतिबेला कांग्रेस निर्णायक बनेको छ। तर, कांग्रेस केन्द्र अझै अनिर्णयको अवस्थामा छ।
केन्द्रमा सभापति शेरबहादुर देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबीच कसलाई सघाउने भन्ने विवाद छ।