प्रधानमन्त्री केपी शर्मा ओलीले दिइरहेका अभिव्यक्तिमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ।
संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेर प्रधानमन्त्री ओलीले आइतबार दिएको अभिव्यक्ति आपत्तिजनक रहेको कांग्रेसको भनाइ छ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सोमबार विज्ञप्ति निकालेर प्रधानमन्त्री ओलीका पछिल्ला अभिव्यक्तिले उनमा अधिनायक आकांक्षालाई थप उजागर गरेको उल्लेख गरेका छन्।
‘संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक छ। फरक मत राख्न, आफ्नो विचार र विरोध प्रकट गर्न संविधानले प्रत्याभूत गरेको हकको प्रयोग गर्नु हरकोहीको नैसर्गिक अधिकार हो। प्रधानमन्त्रीको यो अभिव्यक्ति अलोकतान्त्रिक त छ नै यसले उहाँमा रहेको अधिनायक आकांक्षालाई थप उजागर गरेको छ,’ शर्माले निकालेको विज्ञप्तिमा भनिएको छ।
प्रधानमन्त्री ओलीले अदालतमा विचाराधीन रहेको बहसलाई तमासाको संज्ञा दिएर अदालतको स्वतन्त्र विवेकलाई कुण्ठित गर्ने प्रयत्न गरेको कांग्रेसको भनाइ छ।
‘कुनै पनि रंग र स्वरूपको अधिनायकवादविरुद्ध संघर्षमा उभिनुचाहिँ देशभक्तहरूको जिम्मेवारी, कर्तव्य र पहिचान हो भन्नेमा नेपाली कांग्रेस प्रष्ट छ,’ उनले भनेका छन्, ‘सर्वोच्च अदालतमा भइरहेको बहसलाई ‘तमासा’ को संज्ञा अदालतको स्वतन्त्र विवेकलाई कुण्ठित गर्ने प्रयत्न हो। सम्मानित र पाका अधिवक्ताको अपमान सम्पूर्ण ज्येष्ठ नागरिक अनि सभ्य समाजकै अपमान हो। आलोचक पत्रकारलाई नर्क जान्छन् भन्नू, प्रेस स्वतन्त्रता विरोधी अभिव्यक्ति हो भने पूर्वप्रधानन्यायाधीशहरुलाई ‘अजासु’ भनेर टिप्पणी गर्नु अभिव्यक्ति स्वतन्त्रता विरुद्धको बर्बराहट हो।’
यस्तै कांग्रेसले प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्तिले प्रधानमन्त्री पदकै गरिमालाई धुलिसात बनाएको कांग्रेसको भनाइ छ।
‘प्रधानमन्त्रीका पछिल्ला कयौं अभिव्यक्तिले प्रधानमन्त्री पदको गरिमालाई धुलिसात बनाउँदै लगेका छन्। आफ्नो कदम विरुद्ध उठेका स्वर र समुदाय हरेकलाई होच्याउने र अपमान गर्ने कर्म मार्फत उहाँले तिनको भन्दा बढी आफ्नै मर्यादित जिम्मेवारीको अमर्यादित ढंगले अपमान गरिरहनु भएको छ,’ उनले भनेका छन्।
प्रधानमन्त्री ओलीको प्रवृत्तिलाई कांग्रेसले लज्जास्पद भनेको छ।
‘उहाँको यो प्रवृत्ति दुःखद मात्रै होईन, लज्जास्पद पनि छ। संसद विघटनको असंवैधानिक कदमविरुद्ध देशव्यापी रूपमा उठेका विरोधका स्वरहरुलाई देश विरोधी, देशद्रोही भनेर गैह्रजिम्मेवार ढंगले लान्छित नगर्न र समाजको कुनै पनि वर्ग, पेशा, समुदायलाई लान्छित र अपमानित गर्ने ढंगले अभिव्यक्ति नदिन प्रधानमन्त्रीजीलाई नेपाली कांग्रेस कडा चेतावनी दिन चाहन्छ,’ उनले भनेका छन्।