भारतको गणतन्त्र दिवसको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना समकक्षीहरूलाई शुभकामना सन्देश पठाएका छन्।
भारतीय समकक्षी रामनाथ कोविन्दलाई पठाएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले युगौंदेखिको नेपाल-भारत बहुआयामिक सम्बन्ध आगामी दिनमा झन् मजबुद् हुने विश्वास व्यक्त गरेकी छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएको सन्देशमा प्रधानमन्त्री ओलीले भारतीय जनताको शान्ति, प्रगति र समृद्धिको कामना गरेका छन्।
प्रधानमन्त्री ओलीले सन्देशमा नेपाल-भारतको सम्बन्ध मित्रता, समानता, सहकार्य र एकअर्काको सम्मानमा आधारित रहेको उल्लेख गरेका छन्।
विज्ञान, प्रविधि, चिकित्सा र आर्थिक क्षेत्रमा भारतले गरेको विकासको पनि प्रधानमन्त्री ओलीले प्रशंसा गरेका छन्।
भारतले नेपाललाई कोरोनाविरूद्ध दश लाख डोज भ्याक्सिन अनुदानमा दिएकोप्रति पनि प्रधानमन्त्री ओलीले धन्यवाद व्यक्त गरेका छन्।