प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा प्रचण्ड- नेपाल पक्षको १० सिट पनि नआउने दाबी गरेका छन्।
बुधबार आफूनिकट आदिबासी जनजाति महासंघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा पुष्पकमल दाहाल प्रचण्ड-माधव कुमार नेपाल पक्षको १० सिट पनि नजित्ने दाबी गरेका हुन्।
उनले प्रचण्ड-माधव पक्ष सफलताको बाटोतर्फ नहिँडेर भिरको बाटो हिँडेको टिप्पणी पनि गरे।
जनताले उक्त पक्षलाई कहिल्यै माफ नगर्ने प्रधानमन्त्री ओलीको भनाइ छ।
उनले वैशाख २७ गतेसम्म पुग्दा प्रचण्ड-माधव पक्ष बरफ पग्लिए जसरी पग्लिएर सकिने पनि बताए।
प्रधानमन्त्री ओलीले आधिकारिक पार्टी आफूहरूको भएको बताए।
विगतमा पार्टी र सरकार चलाउन नदिई खुट्टा तानिएको भन्दै उनले आगामी दिनमा नीतिगत तथा वैचारिक आधारमा पार्टी र सरकारलाई ठिक ढंगले चलाई पार्टीलाई एक ढिक्का बनाई अघि बढाउने पनि बताए।