निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई वटै समूहलाई छलफलमा बोलाएको छ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सेतोपाटीलाई दिएको जानकारीअनुसार नेकपाका दुई वटै समूहलाई छलफलका लागि बोलाइएको हो।
‘अध्यक्ष वा अध्यक्षले तोकेको आधिकारिक प्रतिनिधिसहित छलफलमा आउन भनिएको छ,’ श्रेष्ठले भने, ‘शुक्रबार बिहान साढे ११ बजे छलफल हुन्छ।’ नेकपाका दुबै समूहबाट छलफलमा पाँच/पाँच जना पठाउन आयोगले भनेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेपछि नेकपामा ओली र प्रचण्ड-नेपाल गरी दुई वटा समूह क्रियाशील छ। यी दुबै पक्षले आफूहरू नै आधिकारिक नेकपा भएको दाबी गरेका छन्। तर आयोगले दुबै समूहलाई आधिकारिकता दिएको थिएन।
शुक्रबार नेकपाका दुई समूहसँग आयोगले मुख्य गरी दुइटा विषयमाथि छलफल गर्ने तयारी गरेको छ।
‘निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न सूचना प्रकाशन गर्ने र आयोगले निर्वाचन सम्बन्धी हालसम्म गरेका तयारीबारे जानकारी दिने विषयमा छलफल हुन्छ,’ श्रेष्ठले भने।
प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर वैशाख १७ र २७ मा निर्वाचन तय गरेका छन्। तर प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन छ।