जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाका भनाइमा ‘गम्भीर दृष्टिदोष रहेको’ उल्लेख गरेका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीका कदमविरूद्ध संयुक्त आन्दोलनमा जाँदा कांग्रेसलाई घाटा हुने महामन्त्री कोइरालाले सोमबार बताएका थिए। उक्त अभिव्यक्तिमा गम्भीर दृष्टिदोष रहेको भट्टराईको भनाइ छ।
‘कांग्रेस संयुक्त आन्दोलनमा जान हुँदैन यसबाट हामीलाई घाटा हुन्छ,’ कोइरालाले भनेका थिए, ‘अहिलेको अवस्थामा कांग्रेसको भविष्ष उज्ज्वल छ। हामी एक्लै आन्दोलनमा जानुपर्छ। हाम्रो अस्तित्व र विचार बेग्लै छ।’
महामन्त्री कोइरालाको यो अभिव्यक्तिप्रति संकेत गर्दै भट्टराईले सोमबार बेलुकी नै जवाफ दिएका छन्, ट्वीटमार्फत्। भट्टराईले ओली प्रतिगमनविरूद्ध संयुक्त संघर्षमा जानुपर्नेमा जोड दिइरहेका छन्।
‘ओली प्रतिगमनविरूद्ध संयुक्त आन्दोलन गर्नु आफ्नो पार्टीको हितमा हुन्न भन्नु गम्भीर दृष्टिदोष हो है!,’ भट्टराईले भनेका छन्, ‘हिजो शितयुद्धको बाछिटा परेर कांग्रेस-कम्युनिष्ट नमिल्दा राजाको निरंकुशता ३०बर्ष टिकेको नबिर्सौं। अहिले नयाँ शितयुद्धको छायामा त्यस्तै गल्ती दोहोरियोस्!’
नेकपाको प्रचण्ड-नेपाल पक्ष र जसपाले संयुक्त आन्दोलनमा जान कांग्रेससँग प्रस्ताव गरिरहेका छन्। तर कांग्रेसले यसबारे औपचारिक निर्णय गरिसकेको छैन।
भट्टराईले थपेका छन्, ‘संयुक्त संघर्षबाट कोही नभागोस्!’
यो पनि:
संयुक्त आन्दोलनमा जाँदा कांग्रेसलाई घाटा हुन्छ: महामन्त्री कोइराला