प्रचण्ड-नेपाल नेतृत्वको नेकपाकी नेता रामकुमारी झाँक्रीले प्रतिगमन झुक्ने प्रक्रिया सुरू भएको बताएकी छन्।
बिहीबार साँझ महानगरीय अपराध महाशाखाबाट रिहा भएपछि मिडियाकर्मीहरूसँग कुराकानी गर्दै आफूले प्रतिगमनविरूद्धको आन्दोलनलाई उत्कर्षमा पुर्याउने भूमिका खेलेपछि आफूमाथि सरकारले राजनीतिक रूपले 'ह्यारेसमेन्ट' गरेको बताइन्।
'नियन्त्रणमा ल्याउने प्रयास भनेको पछिल्लो प्रतिगमनविरूद्धको आन्दोलनमा मैले आफ्नो उपस्थिति र यो आन्दोलनलाई जसरी उत्कर्षमा पुर्याउने भूमिकामा थिएँ। त्यही कारणले व्यक्तिगत तथा राजनीतिक हिसाबले 'ह्यारेसमेन्ट' गर्ने कदम चालिएको जस्तो लाग्यो र यहाँ अरू केही पनि कुरा भएन,'उनले भनिन्।
देशभरिबाट प्रदर्शन तथा दबाव सिर्जना भएपछि प्रतिगमनले झुक्ने प्रक्रिया सुरू गरेको उनले बताइन्।
त्यस्तै, सरकारले प्रहरी प्रशासनमा दबाव दिई आफूलाई नियन्त्रणमा लिएको बताएकी छन्।
आफूलाई राजनीतिक प्रतिशोधको रूपमा सरकारले प्रत्यक्ष रूपमा प्रहरी प्रशासनमाथि दबाव बढाएर नियन्त्रणमा ल्याउने प्रयास गरेको बताइन्।
'यहाँ आइसकेपछि मेराविरूद्ध कुनै जाहेरी दर्ता भएको थिएन। राजनीतिक प्रतिशोधको हिसाबले सरकारले प्रत्यक्ष रूपमा प्रहरी प्रशासनमा दबाव बढाएर नियन्त्रणमा ल्याउने प्रयास गरेको रहेछ,' उनले भनिन्।
झाँक्रीले गोरखाको एउटा भाषणमा राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको आलोचना गरेकी थिइन्।
उनलाई प्रहरीले मुलुकी अपराध फौजदारी संहिता ऐन, २०७४ को राज्यविरूद्धको कसूर अन्तर्गत दफा ५८ बमोजिम पक्राउ गरेको थियो।
प्रहरीले उनलाई सोधपुछ गरेपछि साँझ उनका श्रीमान पशुपति पुरीको रोहवरमा रिहा गरेको थियो।
सोधपुछको क्रममा उनले राष्ट्रपति पदप्रति सधैं नै सम्मान रहेको बयान दिएकी छन्।
'संवैधानिक राष्ट्रपति प्रतिको सम्मान हिजो आज र भोलि उत्तिकै रहनेछ। यो चाहिँ नेपालको प्रचलित कानुनको पालना गरेर अभिव्यक्ति स्वतन्त्रताको हत, राजनीतिक स्वतन्त्रताको हक प्रयोग मात्रै बोलेकी हुँ। अरू केही गरेको होइन,'झाँक्रीको बयान उदृत गर्दै महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दीपक थापाले भने।
बयानपछि मुद्दा चलाउनुपर्ने आवश्यकता नरहेको भन्दै छाडिएको उनले बताए।