नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई/चार वर्ष आफू जनताका बीचमा बस्न चाहेको बताएका छन्।
नयाँ साथीहरू खोज्दा पुराना साथीहरू छुटेको उल्लेख गरेका प्रचण्डले अब काठमाडौंभन्दा बाहिर बस्ने सोच बनाएको पनि बताए।
‘फेरि देशव्यापी अभियान चलाउने र काठमाडौंभन्दा बाहिर दुई/चार वर्ष जनताका बीचमा जाने सोच बनाएको छु,’ बिहीबार पेरिसडाँडामा स्वास्थ्यकर्मी संघ नेपालले गरेको राष्ट्रिय भेलामा प्रचण्डले भने।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रवृत्तिविरूद्ध लड्न १९ पृष्ठको प्रतिवेदन लेखेकोसमेत बताए।
‘केपी प्रवृत्तिका विरूद्ध १९ पृष्ठको प्रतिवेदन लेख्दै गर्दा मैले साँच्चै नयाँ परिस्थितिमा फेरि अर्को जनयुद्धको थालनी गरेको डकुमेन्ट लेखेको अनुभूति भएको थियो। त्यो ओली प्रवृत्तिमाथि प्रहार गरेको हो। हिंसामा जाने कुरा गरेको होइन, शान्तिमार्फत् युद्ध गरेको हो,’ प्रचण्डले भने।
उनले राजनीतिक परिवर्तनमाथि ठूला षड्यन्त्र भइरहेको पनि उल्लेख गरेका छन्।
‘ठूला षड्यन्त्र भइरहेको छ। राजनीतिक परिर्वतनमाथि हमला भइरहेको छ। फेरि आफ्नै खुट्टामा उभिने र पुराना साथीलाई एकतावद्ध गर्दै क्रान्तिकारीहरूमाथि नै भर पर्छौं,’ उनले भने।
उनले कोर्स करेक्सन गरेर प्रतिक्रियावादीहरूसँग लड्ने पनि बताए।
‘म ६६ वर्ष भएँ, उमेरले कति दिन्छ। म छोड्नेवाला छैन। एकचोटी फेरि क्रान्तिमा जाने सोचमा छु। लड्नेवाला छु, छोड्नेवाला छैन। दुई चार व्याटल जित्न बाँकी छ,’ उनले भने।