नेकपा माओवादी केन्द्रले एमालेमा गएका प्रदेशसभा सदस्य झपट बोहरालाई स्पष्टीकरण सोधेको छ।
बोहरालाई माओवादी केन्द्र परित्याग गरेको हो भने पार्टीबाट किन निष्कासन नगर्ने भन्दै २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ।
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटिका सचिव नेपबहादुर चौधरीले बुधबार बोहरालाई स्पष्टीकरण पेश गर्न पत्रमार्फत निर्देशन दिएका हुन्।
‘नेकपा माओवादी केन्द्र र नेकपा एमाले पार्टी पूर्ववत् अवस्थामै रहने भएपछि पनि तपाईंको राजनीतिक क्रियाकलाप नेकपा एमाले पार्टीमा देखिएको र नेकपा एमालेको केन्द्रीय समिति सदस्यसमेत नियुक्ति भएको देखिन आएकाले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३१ को उपदफा (१ ), (२) बमोजिम कार्य गर्नु भएको तथा उक्त ऐनको दफा ३२ को उपदफा १ (ख) बमोजिमको कार्य समेत गरेको बुझिन आएकोले तपाईले पार्टी परित्याग गर्नु भएको हो भने तपाईंलाई किन पार्टी सदस्यबाट निष्कासन नगर्ने?,’ पत्रमा भनिएको छ।
बोहरा अछामको निर्वाचन क्षेत्र नम्बर १ (ख) बाट २०७४ को निर्वाचनमा प्रदेशसभामा निर्वाचित भएका थिए। उनी माओवादीमा रहँदा केन्द्रीय सललाहकार समिति सदस्य थिए।
उनलाई प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली पक्षले केन्द्रीय सदस्यको जिम्मेवारी दिएको छ।
प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री समेत बनेका बोहराले ओली र प्रचण्ड-नेपाल पक्ष अलग्गिएका बेला पदबाट राजिनामा दिएका थिए।