सत्तारूढ नेकपा एमालेका सांसद खगराज अधिकारीले नेकपा एमालेका सांसदलाई नेकपा भनिएकोमा आपत्ति जनाएका छन्।
प्रतिनिधि सभाको बिहीबार बसेको बैठकमा सुरूमै सभामुखसँग समय लिएर बोलेका अधिकारीले एमालेका सांसदलाई मिनी संसद भनिने समिति बैठकमा नेकपा सांसद भन्ने गरेकोमा आपत्ति जनाएका हुन्।
‘फागुन २३ गतेदेखि यता नेकपा एमाले हामी यहाँ छौं। माओवादी केन्द्र नजिकै छ,’ एमाले र माओवादीका सांसदहरू बसेको ठाउँतर्फ संकेत गर्दै उनले भने, ‘संसदभित्र सत्तापक्षको बसाइमा हामी छौं। तर समिति बैठकमा जाँदा हामी नेकपा हुन बाध्य छौं।’
यस्तो खालका परिस्थितिले संसदमा गम्भीर प्रभाव पर्ने उनले बताए।
‘यो संविधानविपरीत छ। कानुनविपरीत छ। दलसम्बन्धी व्यवस्थाविपरीत छ,’ उनले भने, ‘अब संसदले नेकपा जान्दैन। सत्तापक्षले सभामुखसँग यसबारे छलफल गर्यौं। यहाँ हामी नेकपा एमाले हुने र संविधानविपरीत हुने रूपले मिनी संसद मानिने समितिहरूमा नेकपा हुन सक्दैनौं। यो कानुनविपरीत छ।’
उनले असंवैधानिक काम गर्न कसैले पनि उक्साउन नहुने बताए।
‘संवैधानिक काम गरेर संवैधानिक हुन चाहन्छौं भन्दा पनि मौका पाइएन,’ उनले भने, ‘समितिमा दलको शक्तिको अनुपातमा प्रतिनिधित्व गर्दै आएका छौं।
एमालेले संसदीय समितिहरूमा एमाले भएर प्रतिनिधित्व भएर सहभागी हुन चाहेको उनले बताए।
‘हामी सहमतिका साथ जान चाहन्छौं। नेकपा हुनैपर्छ भनेर सहमति हुँदैन। एमाले संसदको ठूलो पार्टी हो। यो बहुमतको सरकार हो। यसको प्रतिनिधित्व त्यसअनुसार नै हुन जरूरी छ,’ उनले भने।
उनले अवैधानिक रूपमा आफूहरू नेकपा हुन नचाहने पनि उनले बताए।
सभामुख अग्निप्रसाद सापकोटाले यसबारे कार्यव्यवस्था समितिमा छलफल भइसकेको जवाफ दिएका छन्। नाम प्राप्त भएपछि समितिको हेरफेर हुने उनले बताए।