नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनता समाजवादी पार्टी जसपाले समर्थन गरेमा सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बन्ने बताएका छन्।
नेकपा माओवादी केन्द्रले कांग्रेसको नेतृत्वमा सरकार बनाउन समर्थन गरिसकेको उल्लेख गरेका पौडेलले जसपाको निर्णय आउन बाँकी रहेको बताए।
शनिबार गृह जिल्ला तनहुँ पुगेका पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्न लागिएको बताएका हुन्। शुक्रबार सभापति देउवा निवासमा भएको तीन दलको छलफल सकरात्मक भएको पनि उनले बताए।
उक्त छलफलमा देउवाले आफ्नो नेतृत्वमा सरकार बनाउने औपचारिक प्रस्ताव राखेका थिए। उक्त प्रस्तावलाई माओवादी केन्द्रबाट समर्थन भए पनि जसपाले पार्टीभित्र छलफल गर्नुपर्ने भन्दै समय मागेको थियो।
‘अहिलेको सरकारले जनताको मतको दुरूपयोग गरेको छ। यो सत्तालाई अपदस्त गरेर नयाँ विकल्प देशमा प्रस्तुत गर्ने तयारीमा हामी छौं,’ उनले भने, ‘जसपाले पनि समर्थन गरिदिए हाम्रो पार्टीको नेतृत्वमा सरकार बनाउने पक्षमा हामी छौं। तर जसपाको बार्गेनिङ के हुन्छ।’
उनले पार्टीभित्र कुनै विवाद नरहेको पनि दाबी गरेका थिए।