नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले कांग्रेस पाँच वर्ष प्रतिपक्षमा बस्न तयार भए पनि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले असंवैधानिक काम गरिराखेकोले नयाँ सरकार बनाउने गृहकार्य गर्नुपरेको बताएका छन्।
आइतबार काठमाडौंमा नेपाल दलित संघले गरेकाो प्रशिक्षण कार्यक्रममा बोल्दै सिंहले ओली नेतृत्वको सरकार भ्रष्टाचारमा डुबेको र असंवैधानिक काम गरिरहेको आरोप लगाए।
‘यो सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ। असंवैधानिक कामहरू गरिराखेको छ,’ उनले भने, ‘हामीलाई सरकार बनाउने रहर होइन। पाँच वर्ष प्रतिपक्षमा बस्ने भनेको हो। तर यो सरकार अप्रजातान्त्रिक ढंगले अगाडि बढेपछि बाध्यता पर्यो।’
उनले असंवैधानिक काम गरेको सरकारलाई बिदा गर्नुपर्ने बताए।
साथै उनले पार्टी महाधिवेशन गर्न क्रियाशील सदस्यता वितरण र नवीकरणका काम समयमै हुनुपर्ने बताएका छन्। विधि र प्रक्रिया अनुसार महाधिवेशन हुनुपर्ने उनको भनाइ छ।