नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संविधान र लोकतन्त्र नै धरापमा पारेको बताएका छन्।
नयाँ वर्षको अवसरमा बुधबार कांग्रेस चितवन खैरहनी नगर समितिले गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले लोकतन्त्र र संविधान रक्षाका लागि कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्ने बताएका हुन्।
‘देशमा सरकार छ कि छैन भनेर खोज्नु पर्ने अवस्था छ। यो सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिक र राजनीतिक तवरले प्रधानमन्त्री पदमा बस्ने वैधानिकता गुमाइसकेका छन्। उनले तत्काल राजीनामा दिनुपर्छ,’ उनले भने।
लोकतन्त्र जोगाउनका लागि कांग्रेस बलियो हुनुपर्ने उनले बताए।
त्यसका लागि कांग्रेस महाधिवेशन समयमै हुनुपर्ने उनले बताए। देश र जनतालाई संकट पर्दा कांग्रेसले महत्वपूर्ण भूमिका खेल्नुपर्ने उनले बताए।