प्रधानमन्त्री केपी शर्मा ओलीले केही मान्छेहरूले आफ्नो सत्ता कब्जा गर्ने महत्वाकांक्षा पूरा नहुँदा प्रतिगमनको हल्ला चलाएको बताएका छन्।
बुधबार काठमाडौंमा लोकतन्त्रका योद्धालाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले केही मान्छेहरूले सत्ता कब्जा गर्नका लागि आफू प्रधानमन्त्री हुन नपाएपछि प्रतिगमन भयो भनेर कराउँदै हिँडेको बताएका हुन्।
संविधान, व्यवस्था र जनताको अधिकार, लोकतन्त्रका मूल्य र मान्यता केही पनि नखोसिएको तर केही मान्छेका इच्छा र आकांक्षा पूरा हुन नसकेकाले त्यस्ता मान्छेहरूले प्रतिगमन भयो भनेर हल्ला चलाउने काम गरेको उनले बताए।
अहिलेको व्यवस्था र व्यवस्था सञ्चालन गर्ने संविधान खोसियो भने मात्रै प्रतिगमन हुने पनि उनले बताए।
उनले भने, ‘एकथरी मान्छे आफू प्रधानमन्त्री हुन पाएन भने प्रतिगमन भयो भनेर आँगनमा निस्केर कराउन थाल्छन्। प्रतिगमन भयो भनेर। अहिले त्यस्तै केही स्यालहुइँया चलाउने मान्छेहरू छन्। के हो प्रतिगमन भनेको ? यिनीहरूले परिवर्तन नै बुझेको रहेन्छन कि क्या हो ? परिवर्तन र उपलब्धिहरू हामीले जे प्राप्त गरेका छौं ती प्राप्त गरेका उपलब्धिहरू गुमे भने हामीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था प्रणाली स्थापना गरेका छौं त्यो गुम्यो भने, त्यो व्यवस्थालाई सङ्गठित र सञ्चालन गर्ने संविधान खोसियो भने, अहिले कसैले संविधान खोस्या छ र ? संविधान खोसिएको छैन। व्यवस्था खोसिएको छैन, जनताका अधिकार खोसिएको छैन लोकतन्त्रका आधारभूत मूल्यमान्यता केही तलमाथि पर्यो र ? केही पनि परेन।’
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले लुटपाट गरेर भए पनि सरकारमा पुग्ने चाहना पूरा नहुँदा प्रतिगमन नहुने बताए।
आफूले ध्वस्त पार्न खोज्ने र ध्वस्त पार्न नसकेपछि प्रतिगमनको हल्ला चलाउने काम भएको पनि बताए।
उनले भने, ‘केही मान्छेहरूको महत्वकांक्षा पूरा हुन पाएन। लुटपाट गरेर लुटेरा तरिकाले सरकारमा पुग्न पर्ने त्यो कुरा रोकियो त्यसो भएपछि प्रतिगमन भयो। आफूले ध्वस्त पार्न खोज्ने ध्वस्त पार्न सकेन भने प्रतिगमन भयो भनेर हल्ला चलाउने। यस्ता शाब्दिक क्रान्तिकारीहरू नामका बामपन्थी, कामका दक्षिणपन्थी आफ्नै बहुमतको सुदृढ बहुमतको झण्डै दुई तिहाइको सरकार आफूहरूले नै उत्पात मच्चाएर ढाल्ने किनभने सत्ता कब्जा गर्ने, कब्जा गर्नका लागि हिँडदा हिँडदै कब्जा किला काँटा सबै फुत्कियो। अनि कब्जा गर्ने। कब्जा हुन सकेन भने प्रतिगमन भयो भन्ने!’
आफ्नो पार्टी तोडफोड गरेर अर्को पार्टीलाई प्रधानमन्त्री भइदिनुहोस् भन्दै हिँड्नेहरूले क्रान्तिका कुरा गर्न नसुहाउने पनि प्रधानमन्त्री ओलीले बताए।
सरकारले गरेको परिवर्तन, स्थायित्व, अग्रमन, विकासको लहर सबै कुराहरूलाई जनताले बुझ्ने प्रयास गरिराखेको पनि उनले बताए।
हिजोका पीडा, घाउ र समस्याको सम्बोधन गर्न विकासका कामलाई तीव्र गतिमा अगाडि बढाइएको पनि उनले बताए।
प्रधानमन्त्री ओलीले देशका लागि गरिएको बलिदानको सम्मान, त्यागको सम्मान र अत्यन्त पीडादायक भोगाइको सम्मान गरिएको बताए।
सहिद परिवार र घाइतेहरूलाई आगामी दिनमा सरकारको तर्फबाट गर्नुपर्ने काम के/के हुन सरकारको ध्यानाकर्षण भएको पनि उनले बताए।
उनले भने, ‘सबै सम्मानित तर यस्तो सम्मान जहाँ बलिदान छ पीडा छ, त्यो बलिदान, त्यो पीडा, ती सहिदको गौरवपूर्ण इतिहासको सम्मान, योगदानको सम्मान, देशका निम्ति गरिएको बलिदानको सम्मान, त्यागको सम्मान र अत्यन्त पीडादायक भोगाइको सम्मान आज हामीले गरेका छौं। यो सुरूआत मात्रै हो। हामीले जुन चिज फिर्ता ल्याउन सक्दैनौं, जुन चिज फेरि रिकभर गर्न सक्दैनौं त्यो त हाम्रो क्षति भइसक्यो। त्यसलाई हामीले देश र जनताका लागि दिएको बलिदान, त्यसलाई एउटा त्याग सम्झिनु। आगामी दिनमा सरकारको तर्फबाट गर्नुपर्ने कामहरू के/के हुन सक्दछ, त्यसतर्फ सरकारको ध्यान गएको छ र सरकार सचेत छ भन्ने कुरा यहाँहरूलाई बताउनको लागि हामीले यस कार्यक्रमको आयोजना गर्यौं।’
सहिदका परिवारको सामाजिक सुरक्षा, रोजगारी र बालबालिकाहरूको शिक्षादीक्षाको सम्बन्धमा सरकारले सम्बोधन गर्ने पनि उनले बताए।
यस्तै, कुनै घाइते व्यक्तिको निरन्तर उपचारको आवश्यकता छ भने सरकारले ध्यान दिने पनि उनले बताए।
उनले भने, ‘सहिदका परिवारको सामाजिक सुरक्षाको सम्बन्धमा, सहिदको परिवारको रोजगारीको सम्बन्धमा, सहिदका परिवारको स-साना बालबालिका छन् भने तिनको शिक्षा दीक्षाको सम्बन्धमा र सहिद नभएका तर घाइते भएका अशक्तताबाट पीडितका जीविकाको समस्या छन् भने अथवा केही काम गर्न सक्ने तर अनुकूलको काम प्राप्त छ भने त्यस्तो स्थितिमा पनि कसरी त्यसको सम्बोधन गर्न सकिन्छ सरकारले त्यस दिशातर्फ पनि सम्बोधन गर्छ।’
सहिदका परिवार आवासविहीनको अवस्थामा छन् भने आवासको उपलब्ध गराउन, जमिन उपलब्ध गराउने व्यवस्था कसरी गर्न सकिन्छ भन्ने सम्बन्धमा सरकारले सोचिरहेको पनि उनले जानकारी दिए।
यस्तै, कहिल्यै कुटाइ नखाएका, जेल नबसी क्रान्तिकारी कुरा गर्नेहरूले सहिद परिवारका दुःख, घाइतेहरूका दुःख नबुझ्ने पनि उनले बताए।
दशकौं लामो समय जेल बस्दाको पीडा आफूले भोगेकोले पीडा कस्तो हुन्छ, आँसुको महत्व कस्तो हुन्छ, यातना र दमन कस्तो हुन्छ भन्ने कुरा आफूले भोगेको पनि उनले बताए।
उनले भने, ‘आन्दोलनको टुप्पामा बसेर दुःख कष्ट नगरिकन, एक दिन जेल नपरी, एकदिन भूमिगत नभई, वास्तवमा त्यसलाई भूमिगत भन्न सकिन्न, विदेशका राम्रै प्रबन्धमा बसेर आफू आन्दोलनको नेतृत्व गरेको भन्ने, अरू बेहाल भइरहँदा तिनीहरूको वास्ता नगर्ने प्रवृत्ति, आन्दोलनमा दुःख भोग्दै नभोगेको त्यस कारणले दुःख भनेको के हो, न पिटाइ खाएको छ अलिकति, कहिल्यै पिटाइ खाएको छैन, कहिल्यै जेल परेको छैन, कहिल्यै नेल हतकडी लगाउनु परेको छैन, कहिल्यै भोकै बस्नु परेको छैन, क्रान्तिकारी कुरा गरेको छ अरूलाई बहकाएको छ, भड्काएको छ, होमिदिएको छ। त्यस्ता मान्छेहरूले यो पीडा बुझ्दैनन्। तर हामीले त पीडा भोगेका छौं। खानै नदिएर डेढ महिनासम्म थुनेर लगातार कुटाइ खाँदा कस्तो हुन्छ हामीले भोगेका छौं। कोही मान्छे देख्न, भेट्न नपाउने गरी चार वर्षसम्म अँध्यारा कोठाभित्र लगेर थुन्दा कस्तो हुन्छ त्यो हामीले भोगेका छौं। परिवारबाट बिछोडिएर, आफन्तबाट बिछोडिएर लामो समयसम्म दशकौंभन्दा लामो १४/१५ वर्ष जेल बस्दा कस्तो हुन्छ हामीले भोग्या छौं। कुटाइ खाँदाको पीडा कस्तो हुन्छ त्यो हामीले भोगेका छौं। त्यसकारण कुटाइ खाने भनेको पनि एउटा घाइते जस्तै हो। ती पीडाहरू हामीले बुझेकै हुनाले हामीलाई पीडा कस्तो हुन्छ आँसुको महत्व के छ, यातना र दमन कस्तो हुन्छ भन्ने कुरा हामीले भोगेका छौं।’
तत्कालीन समयमा माओवादीले हिंसात्मक आन्दोलन सञ्चालन गर्दा समेत आफूले विरोध गरेको उल्लेख गर्दै हिंसात्मक आन्दोलनले कहीँ पुगिँदैन भन्ने कुरा अडानका साथ राखेको पनि उनले बताए।
हिंसात्मक आन्दोलनबाट नागरिकले दुःख पाउनेबाहेक केही हुन नसकेको पनि उनले बताए।
उनले भने, ‘माओवादीले जतिबेला हिंसात्मक आन्दोलन सञ्चालन गर्यो त्यसबेला पनि यो कहीँ पुगिँदैन यो भड्काएर युवाहरूलाई आवेसमा ल्यायो। अथवा युवाहरूलाई देशभक्ति उनीहरूभित्र जगाएर परिवर्तनको आकांक्षा जगाएर होमिदिने, उनीहरूको जिन्दगी बर्बाद हुने, उनीहरूको परिवार बर्बाद हुने, उनीहरू मारिने, उनीहरू सहिद हुने, कति अङ्गभङ्ग हुने अनि तिनीहरूका लासमाथि टेकेर आफूचाहिँ माथि जाने मात्रै काम बन्द गरौं। मैले कडाइका साथ त्यसबेला पनि भनेको थिएँ, यो आन्दोलन कहाँ पुग्छ भनेर मैले त्यसैबेला भनेको थिएँ। कुनै पूर्वाग्रहबस भनेको होइन।’