प्रदेश २ को प्रदेशसभामा नाम र राजधानीको प्रस्ताव दर्ता गराउन बाँकी रहेको नेकपा एमाले र नेपाली कांग्रेसले अलग-अलग प्रस्ताव दर्ता गराउने तयारी गरेको छ।
प्रदेशसभा सचिवालयले दिएको समयसीमाभित्रै प्रस्ताव दर्ता गराउनका लागि दुवै दल आन्तरिक छलफलमा जुटेको हो।
बुधबार दलको बैठक बसेर प्रस्ताव दर्ता गराउने आफूहरूको तयारी रहेको नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले जानकारी दिए।
नेता यादवले बैठकबाट निश्कर्ष निस्के बुधबार नै वा नभए ९ गते प्रस्ताव दर्ता गराउने बताए।
‘यद्यपि हामीहरूको अहिले पनि पुरानो स्ट्याण्ड कायमै छ, प्रदेशको नाम ‘मिथिला-भोजपुरा’ र प्रदेशको स्थायी राजधानी जनकपुरधाम नै प्रस्तावमा दर्ता गराउने हाम्रो तयारी छ,’ उनले भने।
यता नेकपा एमाले ओली समूहका नेता सत्यनारायण मण्डलले पार्टीभित्र अहिले छलफल समेत नभएको बताएका छन्।
'अहिलेसम्म प्रदेशको नामका लागि प्रदेशसभामा कुन नाम दर्ता गराउने भन्ने विषयमा छलफल समेत हुन सकेको छैन,' नेता मण्डलले भने।
यद्यपि स्थायी राजधानीका जनकपुरधाम नै प्रस्तावमा दर्ता गराउने तयारी रहेको उनको भनाइ छ।
‘पछिल्लो समय पार्टीभित्र बढेको अराजकताका कारण यस विषयमा निर्णय लिन कठिनाइ भइरहेको छ,’ उनले अगाडि भने ‘बुधबार बैठक बसेर कुनै ठोस निर्णय लिएर प्रस्ताव लैजाने हाम्रो तयारी छ।’
यता नेकपा एमाले माधव नेपाल समूहका नेता शत्रुधन महतोले प्रदेशको नामाकरणका लागि ३ नाममाथि छलफल चलिरहेको प्रतिक्रिया दिए।
उनका अनुसार जानकी, जनक र मिथिला भोजपुरा मधेशमध्ये कुनै एक नाम दर्ता गराउने तयारी रहेको छ। यद्यपि स्थायी राजधानी भने जनकपुरधाम नै दर्ता गराइने छ।
‘यसअघि हामीले ‘जानकी’ नाम दर्ता नै गराएका थियौं। तर यस पटक जानकी वा मिथिला भोजपुरा मधेशमाथि समेत छलफल चलिरहेको छ। सबैको साझा मतसहित ठोस निर्क्यौल निस्किएलगत्तै हामीले प्रस्ताव दर्ता गराउने छौं’, उनले भने।
यसअघि गत ५ गते प्रदेशको नाम र स्थायी राजधानीका लागि सत्तारूढ जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रले प्रस्ताव दर्ता गराएका थिए।
दुवै दलले प्रदेशको नाम ‘मधेश’ प्रदेश प्रस्ताव दर्ता गराएका थिए।
स्थायी राजधानीमा सत्तारूढ जसपाले जनकपुरधामसहित उत्तरतर्फ पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदी, दक्षिणमा नेपाल भारत सीमा र पश्चिममा मिथिला माध्यमिक परिक्रमा मार्गभित्रको क्षेत्रलाई प्रस्ताव दर्ता गराएको थियो।
माओवादी केन्द्रले जनकपुरधामको अन्तगृह परिक्रमा क्षेत्रलाई राजधानीको रूपमा प्रस्ताव गरेको थियो।
प्रदेश २ को प्रदेशसभामा १ सय ७ जना सांसद रहेकोमा ४ जना कारबाहीमा परेका छन्।
हाल सत्तारूढ दल जसपासँग ५६ जना प्रदेशसभा सदस्य रहेका छन्। त्यस्तै, नेकपा एमालेसँग २१, नेपाली कांग्रेससँग १९ र नेकपा माओवादी केन्द्रसँग ७ जना प्रदेशसभा सदस्य रहेका छन्।
प्रदेशको स्थायी राजधानी र नामको लागि दुई तिहाइ बहुमतको आवश्यकता रहेकोमा कुनै पार्टीसँग बहुमत छैन।