नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसिसीबारे भ्रम फैलाइएको बताएका छन्।
बाबुराम भट्टराई, सुशील कोइरालाका पालादेखि एमसिसीको प्रक्रिया अगाडि बढेको र आफ्नो नेतृत्वमा रहेको सरकारले मन्त्रिपरिषदबाट पास मात्रै गरेको उल्लेख गर्दै देउवाले एमसिसी ठूलो अनुदान भएको बताए।
‘बाबुराम भट्टराई र सुशील कोइरालाको पालादेखि यो एमसिसी सुरू भएको हो। मेरो बेलामा मात्रै आएको होइन। मेरो बेलामा यत्ति भएको हो- क्याबिनेट डिसिजन गरेर मन्त्रीजीलाई पठाएको हो अमेरिकामा,’ बुढानिलकण्ठमा आज पत्रकार सम्मेलन गर्दै देउवाले भने, ‘यो ठूलो अनुदान हो, ब्याज तिर्नु पर्ने पनि छैन। यो केबल अनुदान हो।’
एमसिसीबारे भ्रम फैलाइएकोमा उनले असन्तुष्टि पोखेका छन्।
‘यो सित्तैमा दिएको अनुदान हो, ब्याज तिर्नु पनि पर्दैन। तर हरेक भ्रम फैलाइएको छ। अमेरिकी सेना आउँछ भनेर, कसले आउन दिन्छ नेपालमा अमेरिकी सेना?,’ देउवाले प्रश्न गरे, ‘अमेरिकी सेना आउन दिउँला त म आफैँले? यस्ता झुठा प्रचार गर्ने?’
एमसिसी पारित गर्ने सन्दर्भमा अहिले कुनै छलफल नभएको उनले बताए।
साथै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि एमसिसी पारित गर्न सहयोग गर्ने भनेको देउवा बताउँछन्।