प्रदेश २ सरकारले कोरोना महामारीको संक्रमण न्यूनिकरण गर्न प्रदेशभरिको अस्पताल तथा प्रयोगशालाहरूमा स्वास्थ्य जनशिक्त थप्ने निर्णण गरेको छ।
प्रदेशका अस्पताल तथा प्रयोगशालाहरूमा स्वास्थ्यकर्मीहरूको अभाव देखिएपछि ४ सय १७ जनाको अस्थायी दरबन्दी थप गर्ने निर्णय गरेको हो।
प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकबाट प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका लागि ३३ जना, प्रादेशिक अस्पताल जनकपुरधामका लागि १ सय ७४ जना, महोत्तरीको जलेश्वर, सिरहा, सर्लाहीको मलंगवा, रौतहटको गौर र बाराको कलैया अस्पतालका लागी ३२/३२ जना, सिरहाको लहान अस्पतालका लागि २३ जना र सप्तरीको भारदह तथा पर्साको पोखरिया अस्पतालका लागि १५/१५ जनाको अस्थायी दरबन्दी थप गर्ने निर्णय गरेको हो।
प्रदेश सरकारले कोरोना संक्रमितहरुको उपचारमा खट्ने एनेस्थेसियोलोजिष्टदेखि स्विपरसम्मको अस्थायी दरबन्दी थप्ने निर्णय गरेको हो। थप गरिएका दरबन्दीहरुमा अस्पतालले आवश्यकता अनुसार नियुक्त गर्नसक्ने व्यवस्था गरिएको छ।
बैठकबाट कोरोना महामारीको नियन्त्रणका लागि गरिएका कामहरूको अनुगमन गर्न प्रदेश सरकारका मन्त्रीहरूलाई जिल्ला/जिल्लाको जिम्मेवारी दिँदै फोकल मन्त्री समेत तोकिएको छ।
सप्तरीका लागि भूमिव्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, सिरहाका लागि आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादव, धनुषा र महोत्तरी जिल्लाका लागि आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादव, सर्लाही र रौतहट जिल्लाका लागि उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश राय र बारा र पर्सा जिल्लाका लागि भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई फोकल मन्त्रीको जिम्मेवारी दिइएको छ।