नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वास प्रस्ताव नल्याउने बताएको छ।
शनिबार नयाँ बानेश्वरस्थित संसदको ल्होत्से हलमा बसेको संसदीय दलको बैठकले अहिले प्रधानमन्त्री ओलिविरूद्ध अविश्वास प्रस्ताव ल्याइरहनुपर्ने अवस्था नरहेको निष्कर्ष निकालेको हो।
ओली स्वयंले नै विश्वासको मत लिन खोजिरहेको र उनलाई विश्वासको मत नपुग्ने देखिएपछि कांग्रेसले तत्काल अविश्वास प्रस्ताव ल्याउनु आवश्यक नभएको भन्दै पार्टीले गृहकार्य नगरेको प्रस्टाएको छ।
बैठकले प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीपसमेत लगाएको छ। बैठकले आगामी सोमबार संसदमा प्रधानमन्त्री ओलीलाई विश्वास छ भन्ने प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो।
प्रधानमन्त्री ओलीको विपक्षमा मतदान गर्न संसदका सबै राजनीतिक दलहरुलाई आग्रह गरेको प्रमुख सचेतक बालकृष्ण खाँणले बताए।
साथै कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय पनि गरेको छ। ओलीको बहिर्गमनपछि कांग्रेस नेतृत्वमा सरकार बनाउन पहल गर्ने उनले बताए।