प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिनु अघिल्लो दिन सत्ता समिकरणमा महत्वपूर्ण मानिएको जनता समाजवादी पार्टीका नेताहरूको दौडधुप बढेको छ।
आइतबार बिहानमा जसपा अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनको निवास बुढानिलकण्ठ पुगेका थिए।
देउवासँग ठाकुर र महतोले झन्डै डेढ घन्टा कुराकानी गरेका थिए। उनीहरूबीच के कुराकानी भयो भन्नेबारे दुबै पक्षले खुलाएका छैनन्।
बुढानिलकण्ठमा देउवासँगको भेटपछि ठाकुर र महतो प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेको स्रोतले बतायो।
उनीहरू बुढानिलकण्ठबाट सोझै बालुवाटार पुगेका हुन्।
३४ जना (दुई निलम्बित) सांसद रहेको जसपामा ओली सरकारलाई समर्थन गर्ने कि अर्को सरकार बनाउने भन्नेमा दुई धार छन्।
यसअघि ठाकुर र महतो ओलीसँग निकट देखिएका थिए भने उपेन्द्र यादव र बाबुराम भट्टराई जसरी पनि ओलीलाई सत्ताबाट हटाउनु पर्ने पक्षमा छन्।