जनता समाजवादी पार्टी (जसपा) को बहुमत पक्षले पार्टीका कमिटीहरुको बैठक गरेर एउटै विचार निर्माण गर्नुपर्ने निर्णय गरेको छ।
जसपको कार्याकारिणी समितिका बहुमत सदस्यको बैठकले १-२ दिनमा कार्यकारिणी समितिको बैठक बस्ने र छिट्टै केन्द्रीय समितिको बैठक बस्ने निर्णय गरेको छ।
'अब पार्टी दुई विचारले चल्दैन भन्ने हाम्रो निश्कर्ष छ। दुवै पक्षले आफ्ना विचार राख्नुपर्यो र जसको विचारले बहुमत पुर्याउँछ उसको मान्नुपर्यो। हामी बहुमतको निर्णय मान्न तयार छौ,' जसपाका कार्यकारिणी सदस्य मोहम्मद इस्तिहाक राइले सेतोपाटीसँग भने, 'संविधान मिच्ने प्रतिगमनका मतियाहरुको पछि लागेर पार्टी चल्न सक्दैन। सबै विषयको छिनोफानोको लागि केन्द्रीय कमिटीको बैठक समेत बोलाउने तयारी भएको छ।'
जसपाको केन्द्रीय कमिटि ८ सय १ सदस्यीय रहे पनि ७ सय ७६ जनाको नाम निर्वाचन आयोगमा दर्ता छ।
केन्द्रीय सदस्यहरू एक ठाउँमा भेला हुन सम्भव नभए पनि जुमबाटै बैठक गर्नुपर्ने राईले बताए।
आजको बैठकमा २८ जना उपस्थित भएको उनको दावी छ। जसपाको कार्यकारिणी समितिमा ५१ जना रहेका छन्। जसमध्ये रेशम चौधरी जेलम छन्।
जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले प्रधानमन्त्री केपी ओलीको निरन्तरताको पक्षमा उभिएको छ।
भट्टराई-यादव पक्षले भने ओलीको बहिर्गमन चाहेको थियो। ठाकुर-महतो पक्षले आफ्ना सांसदलाई तटस्थ राखेसँगै ओली प्रधानमन्त्रीमा दोहोरिएका हुन्।
जसपा अध्यक्ष ठाकुरले भने कार्यकारिणी समिति बैठक नभएको भनेर विज्ञप्ति निकालेका थिए।
बैठकले वरिष्ठ नेता महतो संसदीय दलको नेता चयन भएको भनेर आएको समाचारको खण्डनसमेत गरेको छ। 'पार्टीको संसदीय दलको विधान बनेको छैन। विधान नभइकन कोही पनि संसदीय दलको नेता बन्न सक्दैन,' राईले भने, 'कसैलाई मन लाग्यो भन्दैमा चौबाटोबाट नेता हुन पाइँदैन। यसबारेमा पार्टीको तर्फबाट आधिकारिक धारणा समेत आइसकेको छ।'
बिहिबार भक्तपुरस्थित एक रिसोर्टमा भएको ठाकुर-महतो पक्षका सांसदको भेलाले महतोलाई जसपा संसदीय दलको नेता चयन गरेको थियो। भेलामा १८ जना सांसद रहेको ठाकुर-महतो पक्षको दावी छ।
यद्यपी ठाकुर महतो पक्षका दुई जना सांसदले आफ्नो समूहमा समेत हस्ताक्षर गरेको भट्टराई-यादव पक्षको दाबी छ।
जसपमा ३२ जना सांसद छन्। जसमध्ये दुई जना निलम्बनमा छन्।