जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टीको संसदीय दलको नेता राजेन्द्र महतो भएको पत्र संघीय संसद सचिवालयलाई पठाएका छन्।
ठाकुरले मंगलबार पत्र लेख्दै वैशाख ३० गते बसेको जसपा संसदीय दलको बैठकले महतोलाई नेता चयन गरेको उल्लेख गरेका छन्।
वैशाख ३० गते जसपा अध्यक्ष ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षधर सांसदहरु भक्तपुरको एक रिसोर्टमा भेला भएका थिए।सोही भेलाले महतोलाई दलको नेता चयन गरेको घोषणा भएको थियो। ठाकुरले सोही दिन बैठक बसेको उल्लेख गर्नुले यसलाई पुष्टि गर्छ।
भक्तपुरमा भएको भेलामा १८ जना सांसद रहेको भेलाका एक सहभागिले बताएका थिए। तर ठाकुर-महतो निकट एक नेताले भने महतोलाई दलको नेता चयनका लागि २१ सांसदको हस्ताक्षर रहेको दावी गरेका छन्।
मंगलबार मात्रै जसपाका दुई अध्यक्ष ठाकुर र उपेन्द्र यादवले आफूहरूबीचको विवाद समाधान भएको सन्देश जाने विज्ञप्ति निकालेका थिए।
जसपाले जेठ ८ र ९ गतेका लागि कार्यकारिणी समितीको बैठक बोलाएको छ।बैठक बोलाउने पत्रमा ठाकुर र यादवको संयुक्त हस्ताक्षर छ।तर संसदलाई लेखिएको पत्रमा भने ठाकुरको मात्रै हस्ताक्षर छ।