प्रधानमन्त्री केपी शर्मा ओलीले वैकल्पिक सरकार बनेमा आफूले स्वागत गर्ने र रचनात्मक समर्थन रहने बताएका छन्।
शुक्रबार बालुवाटारमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले अन्य दलहरुले वैकल्पिक सरकार बनाएमा आफूले स्वागत गर्ने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भने, ‘म फेरि पनि आग्रह गर्छु तपाईंहरु वैकल्पिक सरकार बनाउनुस्। बिना कुनै षड्यन्त्र म दलका नेताहरुलाई आग्रह गर्छु बनाउनुस् वैकल्पिक सरकार। म त्यसलाई स्वागत गर्नेछु। त्यसमा मेरो रचनात्मक सहयोग हुनेछ। सहयोगी भावनाका साथ कोरोना महामारी तथा अन्य कुरामा मेरो दल प्रस्तुत हुनेछ।’
उनले यदि दलहरूले वैकल्पिक सरकार बनाउन नसके आफूलाई समर्थन गर्न पनि आग्रह गरेका छन्।
यस्तै उनले सहमतिको राष्ट्रिय सरकार बनाउन आग्रहसमेत गरेका छन्। उनले कोभिड–१९ विरुद्ध लड्न सबै दल मिलेर राष्ट्रिय सहमतिको सरकार बनाउन सक्ने भए पनि आफू तयार रहेको बताए ।
प्रधानमन्त्री ओलीले आफूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेको स्पष्ट पारेका छन्।
प्रधानमन्त्री ओलीले आज बिहान सभापति देउवालाई फोन गरेर नयाँ सरकार बनाउन वा राष्ट्रिय सरकार बनाउन प्रस्ताव गरेका हुन्।
‘आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवाजीलाई फोन गरेर मैले तपाईंहरू सरकार बनाउनुस् भनेको थिएँ। नभए मेरै नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं भनेको थिएँ,’ उनले भने।