जनता समाजवादी पार्टी(जसपा)का पार्टी अध्यक्ष उपेन्द्र यादव पक्षले आधिकारिकताका लागि निर्वाचन आयोगमा पुनःनिवेदन दिने भएको छ।
यादवको अध्यक्षतामा बिहीबार बसेको बहुमत कार्यकारिणी समितिको बैठकले आधिकारीकताको दाबी गर्ने निर्णय कार्यकारिणी समिति सदस्य मोहम्मद इस्तियाक राईले जानकारी दिए।
यसअघि यादवले पार्टीका पदाधिकारी हेरफेर भएको जानकारी आयोगलाई गराएको थियो। यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित ४ जनालाई पार्टीबाट निश्कासन गरेको थियो। ठाकुर पक्षले पनि यादवलाई पार्टीबाट निष्कासन गरेको छ।
दुबै पक्षले आयोगमा एक अर्कालाई कारबाही गरेको पत्र पठाए पनि आयोगले दुबै पक्षलाई आधिकारिकता दिएको छैन। यादवले कार्यकारिणी समितिका बहुमत सदस्यको हस्ताक्षर आयोगमा पठाएका थिए भने ठाकुरले यादवलाई कारबाही गरेको पत्र मात्रै पठाएका थिए।
कार्यकारिणी समितिको बैठकले लुम्बिनी प्रदेशका चार सांसदलाई फेरि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। यसअघि कार्यकारिणी समितिको बहुमत सदस्यको हस्तक्षरसहित यादव पक्षले ४ सांसदलाई निष्कासन गरेको थियो। तर उनीहरूलाई सर्वोच्च अदालतले पुनर्बहाली गरिदिएको थियो।
उक्त बैठक चुरे दोहन गर्न नहुने निष्कर्ष निकालेको छ। बाढी पहिरोको उद्धारका लागि खट्न यादव पक्षले आफ्ना कार्यकार्तालाई निर्देशन दिएको छ भने उद्धार र राहतका लागि सरकारसँग आग्रह गरेको छ।
आजका बैठकका मुख्य निर्णयहरू
- अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षले पार्टी आधिकारिकताका लागि निर्वाचन आयोगमा पुनः निवेदन दिने ।
- पार्टीको निर्णय विपरीत ओली सरकारमा मन्त्री भएका नौ जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ ।
- बैठकले लुम्बिनी प्रदेशका चार सांसदलाई फेरि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
- चुरे दोहन गर्न नहुने बैठकले निष्कर्ष निकालेको छ।
- बाढी पहिरोको उद्धारका लागि खट्न नेता कार्यकर्तालाई निर्देशन दिएको छ
- बाढ़ी पहिरो पीड़ितलाई उद्धार र राहतका लागि सरकारसँग आग्रह गरेको छ ।