नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल पक्षले पूर्वतयारी, घाइतेको उद्धार तथा उपचार, राहत र विस्थापितको पुनर्स्थापनासहित जोखिम न्युनिकरण र व्यवस्थापनको समग्र कामलाई गंगालाल तुलाधरको संयोजकत्वमा विशेष कार्यदल बनाउने निर्णय गरेको छ।
एमाले पोलिटब्युरो सदस्य तुलाधर विपद व्यवस्थापनका विज्ञसमेत हुन्।
वरिष्ठ नेता नेपालले बिहीबार एक विज्ञप्ति जारी गर्दै सिन्धुपाल्चोक, मनाङ, म्याग्दी, जाजरकोटलगायत देशका अधिकांश जिल्लामा बाढी, पहिरो र डुबानले ठूलो मानवीय र भौतिक क्षति भएको भन्दै यस्तो विषम परिस्थितिमा हाम्रो समग्र पार्टीपंक्ती परिचालित हुन जरूरी रहेको उल्लेख गरेका छन्।
‘अहिले घाइतेको उद्धार तथा उपचार, राहत र विस्थापितको पुनर्स्थापनामा केन्द्रित हुनुपर्ने भए पनि दीर्घकालिन रणनीति र योजना बनाएर अघि बढ्न जरूरी छ,’ नेपालले भनेका छन्, ‘अब तत्कालै विज्ञहरु सहित हाम्रो जनवर्गीय एवम् पेशागत संगठनहरु, सातै प्रदेशको प्रतिनिधित्व हुने गरी पार्टी नेता कार्यकर्ताहरु, निर्वाचित जनप्रतिनिधिहरु समेतको सहभागितामा कार्यदललाई पूर्णता दिई घाइतेको उद्धार तथा उपचार, राहत र विस्थापितको पुनर्स्थापनाका साथै जोखिमयुक्त क्षेत्रहरुमा उच्च सतर्कता अपनाउन, पूर्व तयारी गर्न, पूर्व सूचना प्रणालीको विकास गर्ने जस्ता जस्ता कार्यमा समेत जुट्न हार्दिक आह्वान गर्दछु।’