असार १ गते सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ सेमेसिदाङ हिमाल मुनी रहेको भेमाथाङ चौरमा गएको पहिरो र त्यसपछि आएको बाढीमा परी हालसम्म २३ जना वेपत्ता रहेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले शनिबार विज्ञप्ति निकालेर चार महिलासहित २३ जना बेपत्ता भएका हुन्।
त्यसमध्ये मेलम्ची खानेपानी आयोजनामा कार्यरत तीन भारतीय र तीन चिनियाँ नागरिक छन्।
गाउँपालिकाका अनुसार बाढीमा परी वेपत्ता हुनेहरुको संख्या अझ बढ्ने अनुमान गरिएको छ ।
यसैबीच गाउँपालिकाले पहिरो र बाढी आउने सम्भावना कायमै रहेको भन्दै सतर्क हुन अपिल गरेको छ।
हेलम्बु-१ स्थित सेमेसिदाङ हिमालमुनी रहेको भेमाथाङ्ग चौरमा पहिरो खसेपछि मेलम्ची थुनिएको र त्यसले गर्दा मेलम्चीमा बाढी आएको जानकारी विपद् विज्ञ डा. रविनराज निरौलाबाट प्राप्त भएको गाउँपालिकाले जनाएको छ।
सो ठाउँमा पहिरो खसेर फेरि मेलम्ची थुनिन सक्ने र मेलम्ची, हेलम्बु लगायतका क्षेत्रमा फेरि ठूलो बाढी आउने सम्भावना रहेकाले सतर्क हुन गाउँपालिकाले अपिल गरेको हो।
‘हाल २५ प्रतिशत मात्रै पहिरो गएको र बाँकी ७५ प्रतिशतमध्ये के कति भागमा पहिरो जान सक्ने भन्ने एकिन नभएकाले थप बाढी जान सक्ने हुँदा सबै सरोकारवालाहरुले उच्च सावधानी अपनाउन समेत जानकारी गरिन्छ'- विज्ञप्तिमा लेखिएको छ ।
गत मंगलबार मेलम्चीमा आएको बाढीले हेलम्बु र मेलम्चीमा ठूलो क्षति पुर्याएको छ।
हेर्नुहोस् बेपत्ता हुनेको सूची