बालुवाटारमा सत्तारूढ गठबन्धनको बैठक बसेको छ।
आज बिहान ९ बजेका लागि बैठक बोलाइए पनि केही ढिला बैठक सुरू भएको छ। प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले दिएको जानकारीअनुसार बैठक सुरू भएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायत बैठकमा छलफल भएको छ।
बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि सहभागी छन्।
नेकपा माओवादीबाट नेता नारायणकाजी श्रेष्ठ पनि छन्।
जसपाबाट अशोक राई सहभागी छन्। यस्तै राष्ट्रिय जनमोर्चाबाट उपाध्यक्ष दुर्गा पौडेल पनि गठबन्धन बैठकमा सहभागी छन्।
बैठकमा नेकपा एमालेका माधवकुमार नेपाल भने अनुपस्थित छन्। उनलाई पनि बैठकमा आउन खबर गरिएको थियो।
तर नेता नेपालनिकट बिजय पौडेल गठबन्धन बैठकमा सहभागी रहेको स्रोतले जानकारी दिएको छ।
मन्त्रिपरिषद बिस्तारलगायत विषयमा छलफल गर्न गठबन्धन बैठक बसेको हो। देउवा सरकारमा चार मन्त्री र एक राज्यमन्त्री मात्रै छन्।