नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाललगायतलाई पार्टीमा कुनै ठाउँ नभएको बताएका छन्।
पार्टीको काठमाडौं जिल्ला कमिटीले शनिबार आयोजना गरेको बैठकमा बोल्दै उनले माधव नेपालसहितका नेताहरुलाई मुख्य–मुख्य ‘अपराधि’ को रुपमा चित्रण गर्दै उनीहरूलाई पार्टीमा कुनै ठाउँ नरहेको प्रष्टयाएका हुन्।
‘अब माधव नेपाल जस्ता आन्दोलनविरोधी देशद्रोहीहरूलाई कुनै ठाउँ छैन यहाँ, कुनै ठाउँ हुनेछैन’, उनले भने।
‘बामपन्थी सरकार ढाल्ने, दक्षिणपन्थी सरकार बनाउने, दक्षिण पन्थीको पक्षमा फ्लोर क्रम गरेर मत हाल्ने, आफ्नो पार्टीको प्रधानमन्त्रीले विश्वासको मत माग्दा २७ जना बाहिर लिएर गएर पार्टीको सरकार ढाल्ने, अनि दक्षिणपन्थी सरकार बनाएर फ्लोर क्रस गर्ने,’ अध्यक्ष ओलीले माधव नेपालप्रति आक्रोश व्यक्त गर्दै भने, ‘यस्ता प्रतिक्रियावादीहरूका मतियारका लागि पार्टीमा ठाउँ छैन।’
उनले माधव नेपाल पक्षका अन्य नेताहरुलाई भने पार्टीका आउन पुनः आह्वान गरे। ‘अरु साथीहरु गल्ती महसुस गरेर फर्कनु हुन्छ भने हामी मौका दिन्छौं। आउनुहोस्– यो पार्टी हामी सबैले बनाएका हौं।’ अध्यक्ष ओलीले थपे, ‘गल्ती भईहाल्यो भने पनि त्यसलाई सच्याएर आउनुहोस्, काम गरौं।’ उनले माधव नेपाल पक्षमा नेताहरु नआए पनि चिन्ता गरेर बस्नुपर्ने अवस्था आफूहरुका लागि नरहेको दाबी गरे।
अध्यक्ष ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याएर देखाउने दाबी समेत गरे। पार्टीमा खुट्टा तान्ने तत्वहरु अव पार्टी भित्र नरहेकाले बहुमत ल्याउन सकिने उनको तर्क थियो। ‘अबको निर्वाचनमा बहुमत ल्याएर देखाउँछौं। किनभने पार्टीमा खुट्टा तान्ने तत्वहरु छैनन्। अगाडि बढन खोज्यो, खुट्टा तान्ने, उम्मेदवार बनाउन खोज्यो नजित्नेलाई अघि सार्ने, जो पार्टीप्रति समर्पित छैन् उसलाई उम्मेदवारको रुपमा अघि सार्नु पर्छ भन्ने,’ उनले भने, ‘अहिले फ्लोर क्रस गरेर शेरबहादुर देउवाका पछिपछि कुद्ने छन नि, यस्ता तत्वहरु नभएपछि पार्टीले स्पष्ट बहुमत ल्याउनेछ।’
अध्यक्ष ओलीले आगामी निर्वाचनमा पार्टीले सशक्त हैसियत देखाउनुपर्ने उल्लेख गर्दै पार्टीलाई एकतावद्ध बनाएर लैजान पार्टीका सबै नेता, कार्यकर्ताहरुलाई योगदान गर्न पनि आग्रह गरे।। ‘बब यस पार्टीले आगामी निर्वाचनमा सशक्त हैसियत विजयका साथ देखाउनु पर्नेछ। म कमरेडहरुलाई आग्रह गर्न चाहन्छु, स–साना कुराहरुमा नअल्झिकन, आन्तरिक मनमुटाव नराख्न, म कहाँ परे, मेरो पद कहाँ पर्यो भन्ने भन्ने कुरामा ध्यान नदिई उपयुक्त ढंगले कार्य विभाजन गर्न, उपयुक्त ढंगले उम्मेदवार चयन गर्न र एकतावद्ध अनुशासित ढंगले पार्टीलाई अघि बढाउन हामी सबैको योगदान चाहिन्छ’, ओलीले भने।
अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारलाई हटाउने आदेश दिएर अवैध काम गरेको भन्दै सर्वोच्च अदालतप्रति आक्रोश व्यक्त गरे। जाली, किर्ते, फटाहा, प्रतिक्रियावादीहरुका दलालहरुले सरकार ढाल्न राष्ट्रपतिलाई दिएको निवेदन अवैध भएको दावी गर्दै उनले त्यस्तो अवैध, कीर्ते, जाली, अनुशासनहीन काम गर्नेलाई कारवाही गर्नुपर्नेमा अदालतले कारवाही गर्न पाईदैन भनेर फैसला गरेको भन्दै आपत्ति जनाए। ‘जाली, किर्ते, फटाहा, प्रतिक्रियावादीहरुका दलालले अवैध काम गरेर सरकार ढाल्यो। त्यस्तो काम संसदीय व्यवस्थामा अनुशासनहीन काम हो। त्यो कारवाही गर्नुपर्ने विषय हो,’ अध्यक्ष ओलीले अदालतको फैसलाप्रति कटाक्ष गर्दै भने , ‘त्यस्ता तत्वलाई कारवाही गर्न पाईदैन अदालतले भन्छ। यही व्याख्या सधैं चल्छ त?’
अदालतले दलको ह्वीप उलंघन गरेर फ्लोर क्रस गर्नेहरुलाई पनि कारवाही नगरेकोमा अध्यक्ष ओलीको आपत्ति थियो।
अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले ‘समृद्ध नेपालः सुःखी नेपाली’ को लक्ष्य अनुसार काम गरेको दाबी समेत गरे। उनले मुलुकलाई समृद्ध बनाउन नेपाली जनताले फेरि पनि आफ्नो पार्टीलाई बहुमत दिने दाबी गरे।