जनता समाजवादी पार्टी (जसपा) ले संसदीय दलको नेतामा उप्रेन्द्र यादवलाई चयन गरेको छ ।
शनिवार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकले नेता यादवलाई दलको नेतामा सर्वसम्मत चयन गरेको हो। निर्वाचन आयोगले यादव नेतृत्वको समूहलाई पार्टीको आधिकारिकता दिएपछि बसेको यो पहिलो बैठकमा संसदीय दलको नेता छानेको छ।
दलको नेतामा उप्रेन्द्र यादवलाई चयन गर्न डा. बाबुराम भट्टराईले प्रस्ताव गरेका थियो भने अर्का नेता महेन्द्र राय यादवले समर्थन गरेका थिए। संसदीय दलको नेतामा निर्वाचित यादव जसपाको अध्यक्ष समेत हुन्।
डा.बाबुराम भट्टराई पार्टीको संघीय परिषद् अध्यक्ष हुन्। जसपाको संसदीय दलको नेता छान्ने बैठकमा यादव समूहमा खुलेका २१ जना सांसदहरुको उपस्थिति थियो। यस्तै संसदीय दलको विधान अनुुसार राष्ट्रिय सभाको दलको नेता भने मनोनयन गर्ने ब्यवस्था छ।