नेकपा एकीकृत समाजवादीकी नेता रामकुमारी झाँकीले अध्यक्ष माधव नेपाललाई छाडेका गएका एमाले नेताहरूलाई युद्धबाट भागेका जर्नेल-कर्णेलको संज्ञा दिएकी छन्।
शनिबार उनले सिन्धुलीको जिल्ला कमिटी सपथ ग्रहण कार्यक्रममा एमालेमा गएका दोस्रो तहका नेताहरूलाई भगौडाको संज्ञा दिएकी हुन्।
ती नेताहरू युद्ध चलिरहँदा भागेको झाँक्रीले बताइन्।
केही नेताहरूले उनीहरू समाजवादीमा फर्किन्छन् कि भनेर पर्खिएको उनले बताइन्। तर अब उनीहरूलाई फर्किएर पार्टी नबन्ने झाँक्रीको भनाइ थियो।
अब पार्टी आफैंले बनाउनुपर्ने भन्दै साथ छाडेका नेताहरूलाई माफी गर्नु नहुने उनको भनाइ छ।
'जब युद्धबाट भागेका जर्नेल कर्णेलहरूलाई फेरि ल्याएर सिपाहीहरूले कमान्डर ठान्छ भने त्यो कमजोर सिपाही हो। कसरी तपाईंले युद्धबाट भागेका युद्धअपराधी जस्ता मान्छेहरूलाई आज पनि प्रतीक्षा गर्नुहुन्छ र नेता मान्न। तर म चाहिँ मञ्जुर छैन,' उनले भनिन्, 'अप्ठ्यारामा, संकटको बेलामा पिँठ्यू फर्काएर भाग्नेहरूलाई किमार्थ माफी गर्नुहुन्न।'
तर दोस्रो तहका नेताहरूले आत्मसमपर्ण गरी फर्किए ढोका खुल्लै राख्ने उनले बताइन्।
'तर सरेन्डर गर्यो भने ढोका खोल्नुपर्छ। आत्मसमर्पण गर्यो भने ढोका खोल्नुपर्छ। संसारमा युद्धमा अपराधीलाई पनि माफी दिएका तमाम इतिहासहरू छन्। त्यसकारण ढोका चाहिँ बन्द गरेका छैनौं,' उनले भनिन्।