नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकै कारण कांग्रेस ‘अलोकतान्त्रिक ढंगले अघि बढेको’ आरोप लगाएका छन्।
शनिबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले सभापतिकै कारण पार्टीको विधि र विधान मिचिएको आरोप लगाएका हुन्।
‘कांग्रेस लोकतान्त्रिक पार्टी त हामीले भन्यौं तर अलोकतान्त्रिक ढंगले अगाडि जाँदैछ। विधि, विधान सबैलाई मिचेर अगाडि जान खोजिरहेको छ,’ उनले भने, ‘कांग्रेसमा अलोकतान्त्रिक प्रवृत्ति बढेको छ। सभापतिजीकै जिल्ला डडेल्धुरामा जसरी अधिवेशन सम्पन्न भयो, त्यसले के देखाउँछ भने पुलिस प्रशासनको आड भरोसामा अधिवेशन गराउनेतिर गयो भने त्यो अधिवेशन कस्तो होला ?'
७५ वर्षको कांग्रेसको इतिहासमा कहिल्यै पनि पुलिस प्रशासन लगाएर अधिवेशन नभएको कोइरालाको भनाइ थियो।
डडेल्धुरामा पुनः अधिवेशन हुन नसक्ने भन्दै महामन्त्री शंशाक कोइरालाले दिएको अभिव्यक्तिप्रति उनले असन्तोष प्रकट गरे।
पुनः अधिवेशन माग गर्दै निर्वाचन समितिलाई पौडेल पक्षले निवेदन दिएलगत्तै महामन्त्री कोइरालाले त्यस्तो अभिव्यक्ति दिएका थिए।
‘महामन्त्रीले किन त्यसो भन्नुभयो, उहाँलाई नै सोध्नुस्,’ उनले भने, ‘डेडल्धुरामा जे भएको छ गलत भएको छ। सच्याउनुपर्छ।’
पार्टी सभापति देउवा नेतृत्वको सरकारप्रति पनि कोइरालाले असन्तुष्टि प्रकट गरे।
सरकारबारे के भन्नुहुन्छ भन्ने जिज्ञासामा कोइरालाको जवाफ थियो-‘सरकार चलेको छ र ? आज ६४ –६५ दिन त भयो क्यारे। भोलि संविधान दिवस पनि हो। पाँच जनाले सरकार चलाउने हो र ? यो सरकार पनि अलोकतान्त्रिक तरिकाले हिँड्दैछ। यो–यो विषयमा नबोल्नु भन्ने प्रेस विज्ञप्ति प्रकाशित गरेको छ। हाम्रै नेतृत्वमा सरकार छ। तर, पनि हामी नराम्रो कुराको विरोध गर्छौं।’
एमसिसी पनि अरूण तेस्रोको अवस्थामा पुग्न लागेको भन्दै उनले चिन्ता व्यक्त गरेका थिए।
‘एमसिसीमा भएका केही प्रावधान छन्। कानुन र संविधान भन्ने कुरा लेखेको छ। संविधानमाथि त एमसिसीको कानुन लागू त हुँदैन होला नि,’ कोइरालाले थपे, ‘त्यसबारे नेताहरूले बुझाउनु पर्यो।’
हरेक प्रधानमन्त्रीले सत्तामा हुन्जेल एमसिसी पास गर्नुपर्छ भन्ने अनि सत्ताबाट ओर्लेपछि विरोध गर्ने शैली ठीक नभएको उनको भनाइ थियो।
‘सुशील कोइराला, झलनाथ खनाल, प्रचण्ड, शेरबहादुर र केपी ओली प्रधानमन्त्री हुँदा एमसिसी पास गर्नुपर्छ भन्ने बाहिर आएपछि हुँदैन भन्ने यो के हो?,’ उनले भने, ‘अरुण तेस्रो योजना त्यसबेला एमालेले विरोध गर्दा अवस्था कस्तो आयो ? यो विषयमा सबैले सोच्नुपर्छ। एमसिसीको विषयमा छलफल गरेर सबैले सहमति गरेर अगाडि बढ्नुपर्छ।’
एमसिसीकै कारण अहिलेको सत्ता गठबन्धन टुट्ने अवस्था नरहेको भन्दै उनले सम्भावना चाहिँ अनेक हुनसक्ने औंल्याए।
‘फेरि के हुन्छ भन्न सकिँदैन,’ उनले भने। अहिलेको गठन्धनबारे सोधिएको प्रश्नमा उनले भने, ‘गठबन्धनमा जानै पर्छ तर, चुनावी एलायन्समा जानु हुँदैन।’
एक नम्बर र बागमती प्रदेशमध्ये एउटा प्रदेशमा कांग्रेसको मुख्यमन्त्री हुनुपर्ने दाबी गर्दै उनले एक नम्बर प्रदेश कांग्रेसको भागमा परोस् भन्ने चाहना व्यक्त गरे।
दुवै प्रदेशमा माधव नेपालले सरकारको नेतृत्व गरेको दाबीलाई स्वभाविक भन्दै उनले थपे, ‘मैले पनि त भन्न सक्छु २ वटै चाहिन्छ भनेर। तर, म जिम्मेवार भएर एउटा भन्दैछु। माधव नेपालले गैरजिम्मेवार कुरा गर्नुभएको छ।’