नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको गुटबन्दी र स्वेच्छाचारिताको विरूद्धमा विद्रोह गरेको बताएका छन्।
मंगलबारदेखि सुरू एकीकृत समाजावादीको बैठकमा पेश भएको राजनीतिक प्रतिवेदनमा अध्यक्ष नेपालले आफूहरूको विद्रोह रहर नभएर बाध्यता भएको समेत उल्लेख गरेका छन्।
'गुटबन्दीका विरूद्धमा,स्वेच्छाचारिताको विरूद्धमा एवम् व्यक्तिवादी ढंगले चल्ने र पार्टीलाई दक्षिणपन्थी अवसरवादको दिशामा धकेल्ने कार्यका विरूद्धमा हाम्रो विद्रोह हो। यो विद्रोह रहर नभएर बाध्यता हो,'उनले भनेका छन्,'केपी ओलीले समानता, न्याय, समावेशी, समानुपातिक र समाज रूपान्तरण समावेशीका विषयमा जहिले पनि 'कू' गरेका छन्। त्यसविरूद्धमा हाम्रो अभियान हो।'
नेपालले पेस गरेको राजनीतिक प्रतिवेदनमा अहिलेको लोकतान्त्रिक गठबन्धनलाई निरन्तरता दिने भन्दै एक्लै निर्वाचनमा नजाने समेत उल्लेख गरेका छन्।
दुई दिनसम्म चल्ने बैठकमा आज समूहगत छलफल समेत भएको थियो।